जेन-जी घाइतेलाई उपचार भन्दा आन्दोलनका मागको चिन्ता : शिक्षामन्त्री पुन



काठमाडौं , असोज ११ । अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेन-जी आन्दोलनका घाइतेहरूलाई ट्रमा सेन्टरमा भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। शनिबार उनले उपचारको अवस्था बुझ्न अस्पताल पुगेका थिए। मन्त्री पुनले घाइतेहरूको स्वास्थ्य उपचार राम्रो भइरहेको र कसैले पनि उपचारबारे गुनासो नराखेको जानकारी दिए।

उनले भने, “शरीरको चिन्ता भन्दा पनि माग पूरा हुन्छ कि हुँदैन भन्ने चिन्ता उनीहरूमा बढी छ। भविष्यमा के हुने हो भन्ने प्रश्न छ।” मन्त्री पुनका अनुसार बिरामीहरूले उपचार नपाएको गुनासो गरेका छैनन्। उनी थपे, “हाम्रो माग मुद्दा नै जेन-जी आन्दोलनको केन्द्रमा छ। हामी देशका लागि लडेका हौँ र रगत बगाएका हौँ, त्यसैले हाम्रो माग पूरा हुनुपर्छ।”

उनले प्रत्यक्ष निर्वाचित कार्यकारी पदबारे अहिलेको स्थितिमा स्पष्ट उत्तर दिन नसकिने बताए। “यो राजनीति हो, अहिले प्रत्यक्ष निर्वाचित गर्न सकिँदैन भन्न पाइन्छ, तर भविष्यमा परिस्थिति परिवर्तन हुन सक्छ,” उनले भने।

गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा सरकारी तथ्यांकअनुसार ७४ जनाको मृत्यु भएको थियो भने सयौँ घाइते भएका छन्। अहिले घाइतेहरूको उपचार जारी छ। मन्त्री पुनले जानकारी दिए अनुसार, ट्रमा सेन्टरमा उपचाररत घाइतेमध्ये एक जनामात्रै आइसीयूमा छन् भने बाँकी सबैको अवस्था स्थिर र खतरा मुक्त छ।

मन्त्री पुनको भेटले जेन-जी आन्दोलन र त्यसका मागप्रति सरकारको संवेदनशीलता देखाएको भए पनि आन्दोलनरतहरूको ध्यान अझै स्वास्थ्यभन्दा माग पुरा हुनेमा केन्द्रित छ भन्ने कुरा स्पष्ट भएको छ।

प्रकाशित मिति: २०८२ आश्विन ११, शनिबार १४:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको