स्वशासन अभ्यास गर्न राजेन्द्र महतोले गठन गरे परिषद्



जनकपुरधाम, असोज ११ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले स्वशासन अभ्यास गर्न विभिन्न राष्ट्रिय परिषद् गठन गरेको छ ।

तमु राष्ट्रिय परिषद्को प्रमुख कमलाकुमारी गुरुङ, नेवाः राष्ट्रिय परिषद्को प्रमुखमा सुमन सायमी, तामाङ राष्ट्रिय परिषद्का प्रमुखमा मिङ्मार तामाङ, लिम्बू राष्ट्रिय परिषद्को प्रमुखमा रमेश योङ्हाङ, मगर राष्ट्रिय परिषद्को प्रमुखमा जुनतारा पुन मगर, कोचिला राष्ट्रिय परिषद्को प्रमुखमा चन्द्रप्रसाद राजवंशी, खस राष्ट्रिय परिषद्को प्रमुखमा शेरबहादुर शाह, थारु राष्ट्रिय परिषद्को प्रमुखमा चन्द्रकान्त चौधरी, मधेसी राष्ट्रिय परिषद्को प्रमुखमा अनिलकुमार सिंहलाई चयन गरेको राष्ट्रिय मुक्ति पार्टीले जनाएको छ।

यो परिषद्ले स्वशासन विधान निर्माणका साथै सम्बन्धित राष्ट्रको परम्परागत शासन प्रणाली पुनस्र्थापना गर्ने अध्यक्ष महतोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सांस्कृतिक संरक्षण, भूमि अधिकार, आर्थिक आत्मनिर्भरता जस्ता काम यो परिषद्ले गर्ने उल्लेख गर्दै अध्यक्ष महतोले संयुक्त राष्ट्र संघको मापदण्ड पालना गर्ने रहेको बताए ।

आईएलओ महासन्धि १६९ को प्रावधान अनुसार स्वशासनको अभ्यास गर्ने भन्दै उनले शान्तिपूर्ण सहअस्तित्वका लागि अन्य राष्ट्रहरुसँग सद्भावना कायम राख्ने पनि बताए । अध्यक्ष महतोले स्वशासन संरचनालाई वैधानिक स्वीकृति दिलाउने अन्तर्राष्ट्रिय रुपमा पहल पनि गर्ने बताए ।

जिम्मेवारी दिएका प्रमुखहरुलाई कार्यभार सम्हालेर सम्बन्धित राष्ट्रको अन्तरिम संगठन एवं शासकीय कार्यकारी परिषद् गठन गर्न पनि अध्यक्ष महतोले निर्देशन दिएका छन् । त्यस्तै, स्वशासन विधान निर्माण कार्य योजना तयार गर्न, ग्राम स्वराजको निम्ति आफ्नो राष्ट्रको सामुदायिक सांस्कृतिक, आर्थिक, राजनैतिक अभ्यासबारे प्रतिवेदन बनाउन, ग्राम स्वराज र राष्ट्रिय स्वशासनबिच समन्वय गर्ने संयन्त्र बनाउन पनि उनले निर्देशन दिएका छन् ।

प्रकाशित मिति: २०८२ आश्विन ११, शनिबार ०७:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको