
जनकपुरधाम, असोज १२ । नेपालले वेस्ट इन्डिजसँगको पहिलो टी–२० आई खेलमा ऐतिहासिक जित हासिल गरेको छ । शनिबार राति भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराउँदै ऐतिहासिक जित हासिल सफल भएको हो ।
नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो । नविन विदायसीले सर्वाधिक २२ रन बनाएका थिए भने अमिर जाङ्गो र किएसी कार्टीले समान १९ रन जोडेका दिए ।



नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा १७ रन दिएर २ विकेट लिए। त्यस्तै कप्तान रोहित पौडेल, करण केसी, दिपेन्द्रसिंह ऐरी र नन्दन यादवले एक/एक विकेट लिए ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १४८ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ३५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बनाए । कुशल मल्लले २१ बलमा २ चौका र २ छक्कासहित ३० रन बनाए । गुल्शन झाले २२ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए ।
नेपाली क्रिकेट टोलीले हालसम्म आईसीसीको फूल मेम्बर (पूर्ण सदस्य) अर्थात् टेस्ट, ओडिआई र टी–२०आई सबै मान्यता प्राप्त गरेका टोलीसँग धेरै खेल्ने मौका पाएको छैन । त्यसमाथि पनि द्विपक्षीय शृंखला त यो पहिलो नै हो ।
नेपालले भारत, अफगानिस्तान, बंगलादेशजस्ता टोलीसँग कुनै मुख्य प्रतियोगिताहरूमा मात्र खेल्ने अवसर पाएको छ । हालसम्म फूल मेम्बरलाई हराउन भने सकेको थिएन ।
हाल फूल मेम्बर भइसकेको अफगानिस्तानलाई नेपालले सन् २०१४ को टी–२० विश्वकपमा हराएको भएपनि त्यसबेला अफगानिस्तान पूर्ण सदस्य राष्ट्र अर्थात् फूल मेम्बर भइसकेको थिएन र एसोसियट नै थियो ।
नेपालले यसअघि पूर्ण सदस्य राष्ट्रसँग आठ टी–२० अन्तर्राष्ट्रिय खेलेको थियो । २०१४ मा अफगानिस्तान र २०१५ मा आयरल्यान्डविरुद्धका खेलहरू भने त्यतिबेला दुवै एसोसिएट राष्ट्र भएकाले गणना गरिएको छैन।
नेपालले जिम्बाब्वे, बंगलादेश र आयरल्यान्डसँग दुई–दुई पटक खेलेको छ भने भारत र दक्षिण अफ्रिकासँग एक–एक पटक खेलेको छ। यी आठै खेलमा नेपाल पराजित भएको थियो।