
काठमाडौं, असोज २१ । जेन-जी आन्दोलनमा भएको दमनका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब बढेपछि मध्यरातमा बालुवाटारमा ४ वटै सुरक्षा प्रमुखको जमघट भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव रामेश्वर दंगाल, नेपाल प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्कीसँग छलफल गरेकी हुन्।



बैठकमा कानुनी परिधिभित्र रहेर ओली र लेखकलाई पक्राउ गर्न सकिन्छ कि सकिँदैन भन्नेबारे चर्चा भएको स्रोतले बताएको छ। जेन–जी आन्दोलनमा ७५ जनाको ज्यान गएपछि उनीहरूलाई कारबाही गर्न माग गर्दै सामाजिक सञ्जालमा ‘३ब्चचभकतप्एइष्’ि र ‘३ब्चचभकतच्बmभकजीभपजबप’ अभियान समेत चलेको छ। केही जेन–जी अगुवाले तुरुन्त कारबाहीको माग गर्दै सात दिनको अल्टिमेटम दिएका छन्, भने अन्य पक्षले छानबिन आयोगको प्रतिवेदन नआएसम्म हतार नगर्न सुझाव दिएका छन्।
सरकारले पाँच असोजमा पूर्व विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा छानबिन आयोग गठन गरेको छ। आयोगले ओली, लेखकलगायतका राहदानी रोक्का गर्न सिफारिस गरे पनि प्राविधिक कारणले प्रक्रिया रोकिएको छ। गृहमन्त्री अर्यालले कानुनी आधारमा मात्रै कारबाही अघि बढाउने बताएका छन्।

प्रधानमन्त्री कार्कीले राजनीतिक संवेदनशीलता मध्यनजर राख्दै निर्णयमा हतार नगर्न आग्रह गरेकी छन्। यद्यपि, जेन–जी पक्षले भ्रष्टाचार र आन्दोलनमाथिको दमनबारे तत्काल कदम चाल्न सरकारमाथि दबाब बढाइरहेको छ। अहिले ओली र लेखक निगरानीमा रहेका छन् भने कारबाही प्रक्रियागत रूपमा अघि बढ्ने जनाइएको छ।