काठमाडौं, असोज २१ । आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीका क्रममा निर्वाचन आयोगले राजनीतिक दलहरूसँग औपचारिक छलफल गर्ने तयारी गरेको छ। चुनावी कार्यतालिका सार्वजनिक गरेपछि दलहरूले “संवादबिनै निर्णय गरिएको” भन्दै आलोचना गरेकाले आयोग अब संवादमार्फत सहमति खोज्ने तयारीमा लागेको हो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार यसअघि भदौ २३ गते नै छलफल गर्ने योजना बनाइएको थियो, तर जेन–जी आन्दोलनका कारण कार्यक्रम स्थगित भएको थियो। उनले भने, “अब हामी जतिसक्दो चाँडो दलहरूसँग छलफल गरेर निर्वाचन तयारीलाई संस्थागत बनाउने पक्षमा छौं।”
आयोगका उच्च स्रोतका अनुसार, आगामी असोज ३० गते दिउँसो साढे ११ बजे आयोग र राजनीतिक दलबीच औपचारिक बैठक हुने तय भएको छ।
गत निर्वाचनमा प्रतिनिधिसभा, प्रदेशसभा वा स्थानीय तहको कम्तीमा एक सीट जितेका २८ राजनीतिक दलहरूलाई छलफलमा आमन्त्रण गरिने तयारी भइरहेको छ। ती दलका प्रमुख वा अधिकृत प्रतिनिधिलाई बोलाउने गरी पत्राचार प्रक्रिया सुरु भएको आयोगले जनाएको छ।
यता, आयोगले सार्वजनिक गरेको कार्यतालिकामा मनोनयन दर्ताको मिति उल्लेख नगरिएको विषयमा दलहरूले आपत्ति जनाइरहेका छन्। यसबारे प्रवक्ता भट्टराईले स्पष्ट गर्दै भने, “अहिले सार्वजनिक भएको कार्यक्रम केवल प्राथमिक कार्यतालिका हो। मनोनयन दर्ता लगायतका विवरण आगामी निर्वाचन कार्यक्रमसँगै तोकिने छन्।”
आयोगको भनाइअनुसार, छलफलपछि दलहरूको सुझावसमेत समेटेर सम्पूर्ण निर्वाचन कार्यतालिका अन्तिम रूप दिने तयारी भइरहेको छ।




