एजेन्सी, असोज २३ । लामो समयदेखि जारी द्वन्द्व अन्त्य गर्न इजरायल र हमासबीच युद्धविराम सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा बनेको शान्ति योजनाको पहिलो चरणमा दुबै पक्ष युद्धविराममा सहमत भएका हुन्।
यो सहमतिको मुख्य उद्देश्य गाजामा जारी युद्ध रोक्नु र बन्दीहरूको रिहाइ सुनिश्चित गर्नु हो।
बीबीसीका अनुसार, सम्झौतामा बिहीबार इजिप्टमा हस्ताक्षर गरिनेछ। सम्झौता अनुसार पहिलो चरणमै २० जना इजरायली बन्दीहरूलाई जीवितै मुक्त गरिनेछ र मानवीय सहायता गाजामा प्रवेश गर्न पाँचवटा नाका तुरुन्त खोलिने छन्।
एसोसिएटेड प्रेस (एपी)का अनुसार, हमासले यो साता नै सबै २० जना बन्दीहरूलाई मुक्त गर्ने तयारी गरेको छ। त्यस्तै, इजरायली सेना गाजाका अधिकांश क्षेत्रहरूबाट फिर्ता हुने भएको छ।
सम्झौता पछि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, “यस सम्झौता अनुसार सबै बन्दीहरूलाई चाँडै मुक्त गरिनेछ र इजरायलले आफ्ना सैनिकहरूलाई सीमासम्म फिर्ता बोलाउनेछ। यो स्थायी र दिगो शान्तितर्फको पहिलो बलियो कदम हुनेछ।”
यस सम्झौताको ग्यारेन्टी अमेरिका, इजिप्ट, कतार र टर्कीले दिएका छन्। सम्झौताका शर्तहरू पालना रहेसम्म पुनः आक्रमण नहुने उल्लेख छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले राष्ट्रपति ट्रम्पसँग टेलिफोनमा कुरा गर्दै सम्झौतामा पुगेको “ऐतिहासिक उपलब्धि”को बधाई साटेका छन्।
नेतन्याहूले ट्रम्पलाई इजरायली संसद (केनेसट) मा सम्बोधन गर्न औपचारिक निमन्त्रणासमेत दिएका छन्। गाजा शान्ति सम्झौताबारे बुधबार राति ढिलो इजरायल, हमास र मध्यस्थ कतारले पुष्टि गरेका छन्।
तर गाजाको शासन प्रणाली र हमासको निरस्त्रीकरण जस्ता विवादास्पद विषयमा भने अझै सहमति जुटिसकेको छैन। यी विषयमा थप वार्ता इजिप्टमा हुने अर्को चरणको बैठकमा हुनेछ।
कतारको महत्वपूर्ण भूमिका
सम्झौता सफल बनाउन कतारले प्रमुख भूमिका खेलेको बताइएको छ। अमेरिका, इजरायल, इजिप्ट र कतारका प्रतिनिधिहरू सोमबारदेखि शर्म–अल–शेख (इजिप्ट) मा बसेका थिए, जहाँ युद्धविराम र कैदी आदानप्रदानको रूपरेखा अन्तिम बनाइएको हो।
रोयटर्सका अनुसार, वार्तामा कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानी पनि सहभागी थिए।
नेतन्याहूको प्रतिक्रियाः “इजरायलका लागि विशेष दिन”
प्रधानमन्त्री नेतन्याहूले यो सम्झौतालाई “इजरायलका लागि विशेष दिन” भन्दै प्रतिक्रिया दिएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “यो इजरायलका लागि विशेष दिन हो। हामी आफ्ना प्रिय बन्दीहरूलाई घर फर्काउन सरकारको बैठक बोलाउँदैछौं। हाम्रो सफलता इजरायली सैनिक र सुरक्षाकर्मीहरूको साहस र बलिदानकै परिणाम हो।”
नेतन्याहूले ट्रम्प र उनको टोलीलाई पनि धन्यवाद दिँदै भने, “हामी सबै मिलेर शान्ति विस्तार गर्दै, छिमेकीहरूसँग सहकार्यलाई नयाँ उचाइमा पु¥याउनेछौं।”
नेपाली विद्यार्थी विपिन जोशीको अवस्थाबारे आशा
७ अक्टोबर २०२३ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा १० जना नेपाली विद्यार्थी मारिएका थिए।
त्यही आक्रमणमा नेपालका विपिन जोशीलाई हमासले अपहरण गरेको थियो, जसको अवस्था अझै अज्ञात छ।
हालै विपिनको पुरानो भिडियो सार्वजनिक भएपछि, यो युद्धविराम सम्झौताले उनको अवस्थाबारे पनि जानकारी खुल्ने अपेक्षा गरिएको छ।
युद्धविरामलाई अहिलेसम्मकै ठूलो सफलता
हमासको आक्रमणपछि इजरायलले गाजामा सैन्य अभियान चलाएको थियो, जसमा हजारौंको ज्यान गएको छ र गाजा तहसनहस भएको छ।
यसबीच गरिएको यो युद्धविराम सम्झौतालाई हालसम्मको सबैभन्दा ठूलो कूटनीतिक सफलता मानिएको छ।




