काठमाडौं , असोज २४ । हालैको अविरल वर्षाका कारण बाढीपहिरोले अवरुद्ध भएको बीपी राजमार्ग आज शुक्रबारदेखि पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने छोटो र महत्वपूर्ण मार्गका रूपमा रहेको बीपी राजमार्ग असोज १७ र १८ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोले विभिन्न स्थानमा क्षति पु¥याएको थियो ।
सडक डिभिजन भक्तपुरका प्रमुख इञ्जिनियर सुमन योगेशका अनुसार विभिन्न स्थानमा डाइभर्सन निर्माण र सडक मर्मतको काम अन्तिम चरणमा पुगेको छ । उनका अनुसार काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि नेपालथोकसम्मको डाइभर्सन निर्माण कार्य सम्पन्न भइसकेको छ ।
भौतिक पूर्वाधार, शहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङले विहीबार सो क्षेत्रको अवलोकन गर्दै शुक्रबार साँझसम्म यातायात सञ्चालनका लागि आवश्यक तयारी पूरा गर्न निर्देशन दिएका थिए । मन्त्रीको निर्देशनपछि गएराति अबेरसम्म निर्माण व्यवसायीहरुले काम निरन्तर सञ्चालन गरेका थिए ।
सडक विभागका अनुसार हालैको बाढीले राजमार्गका १६ स्थानमा करिब ३.५ किलोमिटर डाइभर्सन बगाएको थियो । यस्तै, गत वर्षको बाढीमा क्षतिग्रस्त भएपछि बनाइएको ५.३ किलोमिटर डाइभर्सन पनि पूर्ण रूपमा नष्ट भएको विभागले जनाएको छ ।
बीपी राजमार्ग विसं २०७२ मा जापान सरकारको २६ अर्ब जापानी येन र नेपाल सरकारको १.१ अर्ब लागतमा निर्माण गरिएको हो । निर्माण कार्य आर्थिक वर्ष २०५३/५४ मा सुरु भई २०७२ असार १८ गते सम्पन्न भएको थियो ।




