भक्तपुर, असोज २४ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बिहान ११ बजे गुण्डुमा बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीका आन्तरिक व्यवस्थापन, जेनजी आन्दोलनपछिको अवस्था र आसन्न केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गरिनेछ ।
असोज १९ र २० गतेका लागि तय गरिएको बैठक अविरल वर्षाका कारण स्थगित गरिएको थियो। आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रदेश, जिल्ला तथा प्रवासका अध्यक्षहरूसँग सम्पन्न भर्चुअल बैठकका विवरण साझा गर्ने तयारीमा छन्। बैठकमा वर्तमान सरकारले लिन सक्ने कदम र आगामी निर्वाचनका सम्भावनाका विषयमा पनि छलफल हुने बताइएको छ।
पार्टीका केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार, केन्द्रीय कमिटी बैठकको मिति केही दिन पर सारिएको छ। तयारी पूरा नहुँदा असोज २७ देखि हुने भनिएको बैठक अब असोज २९ देखि ३१ गतेसम्म सञ्चालन हुने भएको छ।
त्यस्तै, केन्द्रीय कार्यालय च्यासल जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडमा परेको कारण बैठक स्थल अझै तय हुन नसकेको अधिकारीले जानकारी दिएका छन्।




