काठमाडौं , असोज २५ । कैलाली को घोडाघोडी नगरपालिकाको जरैमा शुक्रबार राति २८ वर्षीय युवक केशरबहादु्र बुढाको वीभत्स हत्यो भयो । १९ वर्षीय बलबहादुर विक र १९ वर्षकै गंगा बुढा क्षेत्रीले बुढाको घाँटी रेटेर हत्या गरी प्रहरी चौकीमा टाउको लगेर गएका थिए । जरै गाउँ घोडाघोडी नगरपालिकाको अन्तिम बस्ती हो । वडा नम्बर ८ मा रहेको उक्त गाउँपछि मोहन्याल गाउँपालिकाको सिमाना सुरु हुन्छ । जरै गाउँमा बाक्लो बस्ती छैन, थोरै परिवारको मात्रै बसोबास छ ।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक ९डीएसपी० रमेशदत्त अवस्थीका अनुसार गाउँकै खाजा पसलमा शुक्रबार राति सोही वडाका विक र क्षेत्री मदिरा सेवन गरिरहेका थिए । ‘सोही पसलमा सुर्खेतको चौकुने गाउँपालिका– ३ मोरीवन घर भई हाल घोडाघोडी– ८ मै बस्दै आएका २८ वर्षीय बुढा पनि मदिरा सेवनका लागि आए,’ डीएसपी अवस्थीले भने, ‘विक र क्षेत्रीबीच चिनजान थियो भने उनीहरू बुढासँग परिचित थिएनन् । मदिरा सेवनकै क्रममा केही बोलचान भएको भने खुल्न आएको छ ।’
मदिरा सेवनकै क्रममा रातिको १० बजिसकेको थियो । ‘पसलेले रातिको १० बजिसकेको र आफू पसल बन्द गर्ने भनेपछि विक, क्षेत्री र बुढा पसलबाट निस्केका रहेछन्,’ डीएसपी अवस्थीले भने, ‘पसल बन्द गरेपछि विक, क्षेत्री र बुढाबीच वादविवाद भएको रहेछ । हत्या आरोपी विक र क्षेत्रीले बुढाले धेरै मदिरा सेवन गरिसकेको भन्दै घर पुगाइदिने बताएका रहेछन् । सोही क्रममा बुढाले गालीगलौज गरेको बयान आरोपीहरुले प्रहरीसमक्ष दिएका छन् ।’
प्रहरीका अनुसार गालीगलौज गरेको भन्दै बुढालाई सुरुमा विक र क्षेत्रीले नालीमा फालेका थिए । ‘सोही क्रममा विवाद बढ्दै गएपछि हतियार ल्याएर बुढाको घाँटी छिनालिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ डीएसपी अवस्थीले भने, ‘हत्यापछि टाउको लगेर आरोपितहरू घटनास्थलनजिकै रहेको विकको दिदीको घरमा पुगेका थिए । दिदीले घरमा बस्न नदिएपछि गस्तीमा गएको प्रहरी टोलीले ११ बजे राति उनीहरूलाई भेटेको हो ।’
प्रहरीले सोधपुछ गरेपछि विक र क्षेत्रीले आफूहरू हत्या गरेर आएको बताउँदै छिनालिएको टाउको देखाएका थिए । डीएसपी अवस्थीका अनुसार आरोपित विक यसअघि पनि अपराधमा संलग्न व्यक्ति रहेको खुलेको छ ।




