काठमाण्डौ, असोज २६ । पूर्वसभामुख कृष्णबहादुर महरालाई सुन तस्करी प्रकरणमा संलग्नता आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोलीले आज आइतबार पक्राउ गरेको छ।
घटनाको सुरुआत १० पुस २०७९ मा फ्लाई दुबईको फ्लाइट नम्बर एफजेट ०५८७ बाट काठमाडौं आएका चिनियाँ नागरिक लि हानसुङबाट भएको थियो। उनले ल्याएका दुई सुटकेसभित्र ७३ वटा बट्टामा ७३० थान ‘भेप’ थिए, जसमा सुन लुकाएर ल्याइएको पाइएको थियो।
उक्त सुनको मूल्य करिब ८ करोड ५५ लाख रुपैयाँ बराबरको थियो। अनुसन्धानले उक्त सुन भन्सारका नासु रेवन्त खड्का लगायतका कर्मचारीको मिलेमतोमा बेचिएको र छुटाइएको देखाएको छ।
अनुसन्धानका क्रममा महराले भन्सारमा दबाब दिएको आरोप लागेको छ। यसअघि नै महराका छोरा राहुल महरा यसै प्रकरणमा पक्राउ परेर कारागार चलान भइसकेका छन्।
सीआईबीले पछिल्ला दिनमा यो प्रकरणमा महरासँग बयान लिँदै आएको थियो। अनुसन्धानमा चिनियाँ नागरिक लुई होनसुङ र दाओनिज वाङसँग महरा र उनका छोरा राहुलबीच निरन्तर संवाद भएको कल रेकर्डमार्फत पुष्टि भएको बताइन्छ।
पूर्वसभामुख महरा यसअघि पनि सुन तस्करीको फाइलमा तानिए पनि सत्ता र प्रभावको कारण अनुसन्धान अघि नबढेको आरोप थियो। अहिले भने सीआईबीले यो मुद्दालाई औपचारिक रूपमा अघि बढाउँदै महरालाई नियन्त्रणमा लिएको हो।




