काठमाण्डौ, असोज २६ । अध्यक्ष सीके राउतको नेतृत्वमा रहेको जनमत पार्टी फुटेको छ। पार्टीभित्रको असन्तुष्टि चुलिँदै जाँदा उपाध्यक्ष इन्जिनियर दीपक साहको नेतृत्वमा नयाँ दल ‘जनस्वराज पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरिएको हो।
निर्वाचन आयोगका उप–न्यायाधिवक्ता विष्णु पौडेलका अनुसार जनमत पार्टीबाट विभाजन भएर आएको दल दर्ताको निवेदनमा ५२ जना केन्द्रीय सदस्यमध्ये २० प्रतिशतको हस्ताक्षर संलग्न छ। आयोगले निवेदन स्वीकृत गरेपछि सनाखत प्रक्रिया सुरु गर्ने तयारी गरेको छ।
साहले भने, “हामीले नयाँ दल दर्ताको प्रक्रिया सुरु गरेका छौं। निर्वाचन आयोगमा निवेदन दिएका छौं, निर्णय हुन बाँकी छ।”
नयाँ दलमा प्रारम्भिक रूपमा १५ सदस्यीय कार्यसमिति गठन गरिएको छ भने पछि पदाधिकारी र केन्द्रीय सदस्य थपिने जनाइएको छ। आयोगका अनुसार नयाँ दलको झन्डा र छापको विवरण अझै बाँकी छ।
यसअघि जनमत पार्टीले पार्टी हितविपरीत गतिविधि गरेको भन्दै इन्जिनियर दीपक साह, कोषाध्यक्ष सुरेन्द्र यादवलगायतका नेताहरूमाथि कारबाही गरी निष्कासन गरेको थियो।
पार्टीभित्र अध्यक्ष राउतको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा। शरदसिंह यादव, युवा संघ संयोजक सीके सिंह, सुदूरपश्चिम इञ्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य विक्रमबहादुर बल लगायत शीर्ष नेताहरूले पनि जनमत पार्टी परित्याग गरेका छन्।




