भारतबाट झलनाथ खनालले भने– कुबेलाको सहनाई नबजाऔंँ



काठमाडौं ,असोज  २६ । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले पार्टीभित्र नयाँ प्रकारको पुनर्गठन र रूपान्तरण आवश्यक रहेको भन्दै सबै क्रान्तिकारी, वामपन्थी तथा प्रगतिशील शक्तिहरूलाई एकै ढाँचामा गोलबद्ध गर्न आह्वान गरेका छन् ।

श्रीमती उपचारको क्रममा भारतमा रहेका उनले वर्तमान राजनीतिक परिस्थितिलाई ध्यानमा राखेर पार्टीलाई सशक्त, आमूल परिवर्तनकारी र नेपाली विशेषताको साम्यवादका निम्ति दृढ संकल्पित बनाउनुपर्ने बताएका छन् ।

खनालले गत २३–२४ भदौका घटनापछि राजनीतिक परिदृश्य तीव्र रुपमा परिवर्तन भएको र अहिले देशको राजनीति आगामी निर्वाचनतर्फ केन्द्रित भएको बताए । उनले पार्टीभित्र प्राथमिक रूपमा चार वर्षे विद्रोह यात्राको निर्भिक समीक्षाको आवश्यकता औँल्याउँदै कुबेलाको सहनाई नबजाउन चेतावनी दिएका छन् । उनले अहिले पार्टी एकीकरणको समय नभएको उल्लेख गरेका छन् ।

‘युवाहरूको जबर्जस्त प्रदर्शन र त्यसपछि मुलुकको राजनीतिमा आएको परिवर्तनले समग्र राजनीतिमा उथलपुथल, विभाजन, पुनर्गठन र रूपान्तरणको प्रक्रिया अघि बढाएको छ’, उनले भने ।

उनले वर्तमान आन्दोलनलाई केवल आवेग वा बाह्य षड्यन्त्र मात्र नभई दुईतिहाइ बहुमत हुँदै प्रधानमन्त्रीत्व सम्हालेका नेतृत्वहरूको असफलता र समग्र राजनीतिक नेतृत्वको जिम्मेवारी असफलतासँग जोड्दै यसलाई ऐतिहासिक अवसरका रुपमा पनि व्याख्या गरे । खनालले वामपन्थी दलहरूले नै जनता र राष्ट्रलाई सही मार्ग देखाउनुपर्नेमा जोड दिँदै केही नेतृत्वहरू यथास्थितिवादमा लाग्दा राष्ट्रिय हित र सामाजिक(आर्थिक रूपान्तरणमा ढिला भएको टिप्पणी गरे ।

 

प्रकाशित मिति: २०८२ आश्विन २६, आइतवार ११:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको