प्रचण्डको सचिवालयले पूर्वएआईजी सुवेदीविरुद्ध साइबर व्युरोमा उजुरी दर्ता



 काठमाडौं,असोज १३। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष **पुष्पकमल दाहाल ‘प्रचण्ड’**को सचिवालयले नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (पूर्वएआईजी) देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराध सम्बन्धी उजुरी दर्ता गरेको छ।

सुवेदीले हालै एक युट्युब च्यानलसँगको अन्तर्वार्तामा ‘जेनजी आन्दोलन सुरु हुनुभन्दा दुई दिनअघि प्रचण्डको निवासबाट दुईवटा ट्रकमा दुई करोड रुपैयाँ निकालिएको’ भन्ने दाबी गरेका थिए।

सो अभिव्यक्तिलाई भ्रामक र निराधार भन्दै माओवादी केन्द्रले विहीबार आधिकारिक रूपमा खण्डन गरेको थियो। त्यसपछि आइतबार प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले साइबर व्युरोमा उजुरी दर्ता गरी औपचारिक अनुसन्धानको माग गरेका हुन्।

प्रचण्डको सचिवालयले जारी गरेको वक्तव्यमा भनिएको छ,

“झूटा सामग्री प्रवाह गरी भ्रम सिर्जना गर्नुका साथै चरित्र हत्या गरिएको छ। सामाजिक सञ्जालमार्फत् पार्टी नेतृत्वविरुद्ध गलत प्रचारप्रसार गर्नु गम्भीर साइबर अपराध भएकाले पूर्वएआईजी देवेन्द्र सुवेदीविरुद्ध उजुरी दर्ता गरिएको हो।”

सचिवालयले डिजिटल माध्यममार्फत् गरिएका यस्ता भ्रामक प्रचारप्रसार साइबर कानुनविपरीत भएको उल्लेख गर्दै आवश्यक अनुसन्धान र कानुनी कारबाहीको माग गरेको छ।


प्रकाशित मिति: २०८२ आश्विन २७, सोमवार ११:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको