प्रधानमन्त्री कार्कीले राष्ट्रिय सभा निर्वाचनबारे छलफल सुरु गरिन्



 काठमाडौं ,असोज  २७ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी राष्ट्रिय सभा निर्वाचनबारे छलफल सुरु गरेकी छन्। यस क्रममा उनले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब आधा घण्टा भेटवार्ता गरेकी हुन्।

प्रधानमन्त्री कार्कीले छलफलमा विशेषगरी राष्ट्रिय सभा निर्वाचनमा जेनजी (Gen Z) पुस्ताको सहभागिता सुनिश्चित गर्ने विषयमा चासो राखेकी थिइन्।



अध्यक्ष दाहालले आफ्ना निकटस्थहरूसँग गरेको ब्रिफिङ अनुसार प्रधानमन्त्री कार्की निर्वाचन समयमै सम्पन्न गर्ने पक्षमा छन्। तर उनले जेनजी पुस्तालाई कसरी सहभागी गराउन सकिन्छ भन्ने विषयमा सम्भावित विकल्पहरूबारे सुझाव मागेकी हुन्।

राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेश सभा सदस्यहरू मतदाता हुने व्यवस्था छ। यस व्यवस्थामा जेनजी पुस्ताका मतदाताको सहभागिता प्रत्यक्ष रूपमा हुने प्रावधान छैन। अध्यक्ष दाहालले यो विषयमा राजनीतिक दलहरूबीच छलफल गर्न सकिने बताएको स्रोतले जनाएको छ।

आगामी फागुन २० गते कार्यकाल सकिने १९ जना राष्ट्रिय सभा सदस्यहरूमध्ये १८ जनाको सट्टा निर्वाचन हुने छ भने राष्ट्रपतिबाट मनोनित सांसद बामदेव गौतमको कार्यकाल पनि त्यही समयमा समाप्त हुनेछ।

प्रधानमन्त्री कार्कीले रिक्त हुने १८ स्थानका लागि हुने निर्वाचनको तयारी र प्रक्रियाबारे अध्यक्ष दाहालसँग परामर्श गरेकी हुन्।

आगामी फागुनमा कार्यकाल सकिने सांसदहरूमा—

  • एमालेका ८ जना: इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसा कुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बीसी।

  • माओवादी केन्द्रका ७ जना: गोपीबहादुर सार्की अछामी, गंगा कुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा र राधेश्याम पासवान।

  • एकीकृत समाजवादीका १ जना: बेदुराम भुसाल।

  • जनता समाजवादी पार्टी नेपालका १ जना: मृगेन्द्रकुमार सिंह यादव।

  • लोकतान्त्रिक समाजवादी पार्टीका १ जना: शेखरकुमार सिंह।

  • साथै, राष्ट्रपतिबाट मनोनित १ सांसद बामदेव गौतमको कार्यकाल पनि समाप्त हुँदैछ।


प्रकाशित मिति: २०८२ आश्विन २७, सोमबार ११:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको