काठमाडौं, असोज २८ । जेनजी युवा आन्दोलनको क्रममा कुटपिटबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज ३४ दिनपछि पहिलोपटक सार्वजनिक हुँदैछन्।
देउवा आज दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुने तयारीमा छन्।
पार्टीले आजको बैठकका लागि केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश सभापतिलाई बोलाएको छ। बैठकअघि बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बस्ने र त्यसमा केन्द्रीय कार्यसमितिमा पेश हुने साझा एजेण्डा तय गरिने बताइएको छ।
बुढानीलकण्ठस्थित निवासमा जेनजी आन्दोलनका क्रममा देउवा दम्पत्तिमाथि आक्रमण र आगजनी भएपछि उनी उपचारका क्रममा लामो समय अस्पतालमा रहेका थिए। उपचारपछि आफन्तको निवासमा बस्दै आएका देउवा आज पहिलोपटक पार्टी कार्यक्रममा उपस्थित हुन लागेका हुन्।
यसबीच, पार्टीको १५औं महाधिवेशन मंसिरभित्र सम्पन्न गर्नुपर्ने विषयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा अडानमा रहे पनि, संस्थापन पक्ष त्यसमा सहमत हुन नसक्दा साझा एजेण्डा अझै टुंगोमा पुग्न सकेको छैन।









