जनकपुरधाम, असोज २८ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज जनकपुरधामस्थित प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका छन्। विश्वासको मत लिने कार्यसूचीका लागि बोलाइएको बैठकमा उनले आफ्ना विचार राख्दै अन्त्यमा राजीनामा दिएका हुन्।
बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले जनमत पार्टीभित्रको असहयोग र नेतृत्वको एकल निर्णयप्रति कडा असन्तुष्टि प्रकट गरे। उनले पार्टी केन्द्रीय अध्यक्ष डा. सीके राउत र प्रदेश संसदीय दलको नेतृत्वले पार्टी निर्णय प्रक्रियामा सहकार्य नगरेको आरोप लगाए।
मुख्यमन्त्री सिंहले भने, “बजेट निर्माणको बेला सानो रकमसम्मका योजनामा समेत असहयोग गरियो। जब मैले गुनासो राखें, त्यसको समाधानको सट्टा असहयोगलाई नै प्रोत्साहन दिइयो।”
सिंहले आफ्नो राजीनामालाई राजनीतिक मर्यादा र कार्यशैलीमा भिन्नताका कारण आवश्यक कदमका रूपमा व्याख्या गरेका छन्।






