सर्वोच्च अदालत आजदेखि नियमित कार्यप्रवाहमा फकिदै



काठमाडौं, असोज २८ । जेनजी आन्दोलनका क्रममा आगजनीबाट प्रभावित सर्वोच्च अदालत क्रमशः आफ्नो नियमित कार्यप्रवाहमा फर्किन थालेको छ।

सर्वोच्च अदालत प्रशासनले आजदेखि (असोज २८) रिट निवेदन दर्ता प्रक्रिया सुरु गरेको छ।

अदालतका अनुसार मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ का दफा ७३, १३७ र १५५ अन्तर्गत पर्ने निवेदनहरू आजदेखि दर्ता र सुनुवाइ दुवै हुनेछन्।

गत आइतबार बसेको फुलकोर्ट बैठकले असोज २८ गतेदेखि नयाँ मुद्दा दर्ता गर्ने निर्णय गरेको थियो।

भदौ २४ गते जेनजी युवाको प्रदर्शनका क्रममा सर्वोच्च अदालत भवनमा आगजनी भएको थियो। उक्त घटनामा धेरै मुद्दाका मिसिल र पुराना कागजात नष्ट भएका थिए, जसका कारण अदालतको नियमित सेवा लामो समयदेखि अवरुद्ध रह्यो।

त्यसबीच, सर्वोच्चले बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक मुद्दाहरू टेन्ट टाँगेर सुनेको थियो।
हाल अदालतले अन्य नियमित सेवा भने अर्को सूचना जारी नभएसम्म सीमित रूपमा सञ्चालन गर्ने र म्याद, हदम्याद तथा तारेख नगुज्रने व्यवस्था मिलाएको जनाएको छ।

प्रकाशित मिति: २०८२ आश्विन २८, मंगलवार ०७:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको