सारथी देउवाबाट ओली ले सिक्लान् त ?



काठमाडौं ,असोज  २९ । यतिबेला नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओली माथि दुइटा दबाब छन् । पहिलो– नेतृत्व हस्तान्तरण । दोस्रो– प्रतिनिधिसभा पुनर्स्थापना होइन, निर्वाचनमा जाने । एमाले नेताहरूको ठूलो पङ्क्ति यी दुई एजेन्डाको पक्षमा उभिएको छ । तर, अध्यक्ष ओली दुवै एजेन्डाको विपक्षमा मात्र छैनन्, सुन्न पनि चाहदैनन् । गुण्डुबाट गड्गडाउँदै ओलीले एमाले नेता र कार्यकर्तालाई एकसाथ सन्देश दिएका छन्– ‘अध्यक्ष छोड्दिनँ, प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ ।’

ओलीले सचिवालय बैठक राखेर यो सन्देश दिएको दुई दिनपछि ओलीका सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्णय भने ठीक उल्टो छ । विघटित संसदको ठूलो दल कांग्रेस सभापति देउवाको निर्णयले ओलीमाथि ठूलो दबाब दिएको छ । ओलीलाई गहिरो सन्देश पुग्ने गरी देउवाले निर्णय लिएको एमालेकै नेताहरूले बताइरहेका छन् ।

मंगलबारबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवहाक सभापतिको जिम्मेवारी दिएका छन् । अनि, प्रतिनिधिसभाको पुनर्स्थापना नभई चुनावमा जान जोड दिने ।

आजदेखि एमालेको केन्द्रीय कमिटी बैठक बस्दै छ ।

एमालेको केन्द्रीय कमिटीको अघिल्लो दिन कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बसेको थियो । २३ र २४ भदौको जेन–जी आन्दोलनपछि यी दलले पहिलोपटक केन्द्रीय कमिटीको बैठक राखेका हुन् । र, दुवै दल महाधिवेशनको तयारीमा लागेका छन् ।

एमालेले आउँदो मंसिरको अन्तिम साता महाधिवेशन गर्ने प्रस्ताव गरेको छ । कांग्रेसमा भने महाधिवेशनको टुंगो लागेको छैन । नियमति महाधिवेशन वा विशेष महाधिवेशन भन्नेमा विवाद देखिएको छ । संस्थापन पक्ष र इतर समूहको फरक–फरक धारणा देखिएको छ ।

तर, यही बीचमा कांग्रेस सभापति शेरबहादुर देउवाका दुइटा निर्णयले भने एमाले अध्यक्ष केपी ओलीलाई गहिरो सन्देश दिएका छन् । केन्द्रीय कार्यसमितिको पहिलो दिन नै सभापति देउवाले लिखित मतव्यमार्फत कार्यवहाक सभापतिको जिम्मा उपसभापति खड्कालाई दिने निर्णय मात्र सुनाएनन्, प्रतिनिधिसभा पुनर्स्थापना होइन, निर्वाचनलाई जोड दिनुपर्ने धारणा राखे ।

२३ भदौसम्मका सत्ता साझेदार देउवाको यो निर्णयले एमाले अध्यक्ष ओलीका लागि दबाबको सन्देश दिएको छ । कांग्रेस मात्र होइन, एमालेभित्र पनि नेतृत्व हस्तान्तरणको एजेन्डा उठेको छ । त्यो एजेन्डामा ओलीले अध्यक्षबाट छोड्नुपर्ने दबाब युवापुस्ताका नेताहरूले मात्र होइन, पदाधिकारीहरूले नै दिएका छन् ।

अयकmयक अयििभनभल्भउबतयउ
ओलीले परिस्थितिको जिम्मा लिएर नैतिकता देखाउनुपर्ने तर्क एमाले नेताहरूले गरिरहेका छन् । एमालेका पदाधिकारी र युवापुस्ताले ओलीलाई राजीनामा दिन दबाब बढाएकै बेलामा कांग्रेस सभापति देउवाको निर्णयले ओलीलाई थप दबाब बढाएको छ । देउवाका दुइटा निर्णयले ओलीलाई दबाब दिएको देखिन्छ । एक, कार्यवहाक सभापति तोक्ने निर्णय । दुई, संसद पुनर्स्थापना नभई निर्वाचनमा जोड ।

एमाले अध्यक्ष यी दुवै एजेन्डाको विपक्षमा रहेका छन् । एमालेको सचिवालय बैठकमा पनि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कार्यवाहक दिएर जानुपर्ने मत देखिएको थियो । त्यसलाई ओलीले सुन्न पनि चाहेनन् । २२ भदौमा सकिएको एमालेको विधान महाधिवेशनले त ओलीका लागि अध्यक्ष हुन थप बाटो खुला गरेको थियो । विधान अधिवेशनले बाटो खुलाए गराउने निर्णयको क्रममा पनि एमालेका नेताहरू बोल्न सक्ने अवस्था थिएन । गोदावारीमा चुपचाप निस्केका नेताहरू जेन–जी आन्दोलनपछि भने ओलीको विपक्षमा बोल्ने सामर्थ्य जुटाइरहेका छन् ।

त्यसैले पार्टीमा दुईतिहाइ केन्द्रीय सदस्य भएका देउवाले कार्यवाहक दिएर रुपान्तरणको सन्देश दिएको कांग्रेसकै नेताहरूले बताएका छन् । कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा मात्र होइन, अन्य नेताहरूले देउवालाई राजीनामा दिन दबाब दिएका थिए । उनीहरूले विशेष महाधिवेशनको अभिायन नै चलाएका थिए । त्यही दबाबको सन्देशको रुपमा देउवाले कार्यवाहक सभापतिको जिम्मा उपसभापति खड्कालाई दिएका छन् ।

तर, एमाले अध्यक्ष ओली भने कार्यवाहक दिने ‘मूड’मा त छैनन्, उल्टै प्रतिनिधिसभा पुनर्स्थापनाको माग गरिरहेका छन् । सचिवालयको बैठकले पनि पुनर्स्थापनामा जोड दिने निर्णय गराएका छन् । यता, माओवादी केन्द्रले पनि महाधिवेशनमा जाने र अध्यक्ष प्रचण्डले केन्द्रीय समितिले भङ्ग गर्ने निर्णय गरिसकेको छ । प्रचण्ड अहिले संयोजकको भूमिकामा छन् ।

आजबाट सुरु हुने केन्द्रीय कमिटी बैठकमा ओलीले कांग्रेस सभापति देउवाबाट केही सिक्नुपर्ने मत पनि एमालेभित्र रहेको छ ।

 

प्रकाशित मिति: २०८२ आश्विन २९, बुधवार १२:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको