काठमाडौं , असोज ३० । यही २४ असोजको राति काठमाडौं को दक्षिणकाली नगरपालिपा– ६ बैरेनीमा हत्या गरिएका ४२ वर्षीय सुरेश श्रेष्ठको गाडीको नम्बर प्लेट बुधबार साँझ पाँचथरको हिलिहाङ– ७ मा दुर्घटना भएको पिकअपमा भेटिएको छ ।
हिलिहाङ– ७ को आम्बेजानीमा पिकअप दुर्घटना भएर एक जनाको मृत्यु भएको थियो । गाडीमा एक जना मात्र रहेको र उनी नै चालक रहेको अनुमान गरिएको छ ।
दुर्घटना भएको गाडीको नम्बर ना २ च १६५१ रहेको छ । तर, गाडीभित्र काठमाडौंमा हत्या गरिएका श्रेष्ठले चलाउने गाडीको नम्बर भेटिएपछि प्रहरी अनुसन्धान मोडिएको छ । बा ७ च ५४४९ नम्बर प्लेट गाडीमा भेटिएको थियो ।
श्रेष्ठको हत्या गरी गाडीसमेत लगिएको थियो । भोलिपल्ट काठमाडौंको कीर्तिपुरमा टुकुछाप ढुङ्गाले हानेर बीभत्स हत्या गरिएको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय फर्पिङका प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।
घटनामा गाडीसमेत लगेको पाइएको उनले जानकारी दिए । हत्या गरेर गाडी लगेको अनुमान गरिएको थियो । ‘कसले हत्या गर्यो’ भनेर प्रहरीले अनुसन्धान गरिरहे पनि प्रमाणहरू भेटिरहेको थिएन । हत्या भएको एक सातापछि पिकअपमा नम्बर प्लेट भेटिएको हो ।
हिजो मेची राजमार्गको सल्लेरीबाट तमोर करिडोर हुँदै ताप्लेजुङ जाने क्रममा दुर्घटना भएको थियो । गाडीमा मोबाइल पनि भेटिएको छ । त्यो फोन श्रेष्ठको हो कि होइन भन्नेबारे पुष्टि हुन बाँकी छ ।
दुर्घटनामा लाक्पा नुर्बु शेर्पाको लाइसेन्स भेटिएको छ । उनी ताप्लेजुङको फुङलिङ नगरपालिका– ९ का रहेको खुलेको छ । मृतकको थप पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाए ।
घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिए ।






