काठमाडौं, असोज ३१ । प्रधानमन्त्री सुशीला कार्कीले देशभर जरो गाडेर फैलिएको भ्रष्टाचारविरुद्ध अभियोग चलाउन प्रक्रिया सुरु भएको बताएकी छिन्।
शुक्रबार विभिन्न कूटनीतिक निकायका प्रमुख र नेपालस्थित राजदूतहरूलाई ब्रिफिङ गर्दै प्रधानमन्त्री कार्कीले सरकार पारदर्शिता र जवाफदेहीता बढाउन ठोस कदम चालिरहेको जानकारी दिइन्।
उनले भनिन्, “हामीले सार्वजनिक कोषको दुरुपयोग रोक्न र पारदर्शिता बढाउन राष्ट्रिय बजेटमा संशोधन गरेका छौं। साथै, देशभर फैलिएका भ्रष्टाचार र भ्रष्टाचारीमाथि अभियोग चलाउन फाइलहरू खोलेर काम सुरु गरेका छौं।”
प्रधानमन्त्री कार्कीले नेपालको अन्तर्राष्ट्रिय भूमिकाबारे पनि जोड दिँदै भनिन्, “संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनामा सबैभन्दा बढी फौज पठाउने राष्ट्रको रूपमा हामीलाई गर्व छ — यो विश्व शान्तिप्रति हाम्रो सानो तर अर्थपूर्ण योगदान हो।”




