सिरहा, कात्तिक १ । स्थानीय पत्रकार श्याम कुमार ठाकुरको पहल र नेतृत्वमा मिर्चैया नगरपालिका–५ (साविक रामनगर मिर्चैया–१) मा सुरु गरिएको सरसफाई तथा सडक मर्मत अभियानले उदाहरणीय सफलता पाएको छ। लामो समयदेखि उपेक्षित सडक र असहज वातावरणसँग जुधिरहेका स्थानीय बासिन्दा अहिले राहत महसुस गरिरहेका छन्।
स्थानीय प्रशासन तथा राजनीतिक नेतृत्व निष्क्रिय बनेको समयमा पत्रकार ठाकुरले समुदायसँग समन्वय गरी बजार क्षेत्रदेखि गाउँ टोलसम्म सरसफाई, सडकको खाल्डाखुल्डी पुर्ने, माटो हटाउने लगायतका कार्यहरू सुरु गरेका थिए। अभियानमा वडा नं. ५ का अध्यक्ष, नागरिक समाज, युवाहरू, व्यापारी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको छ।
गत केही महिनादेखि नाला निर्माणपछि बाटोमा माटो थुपारिएकाले मिर्चैयाको मुख्य सडकहरू हिँड्नसमेत असहज भएका थिए। सार्वजनिक निकायबाट पटक–पटक गुनासो गरिए पनि समाधान नआएको अवस्थामा पत्रकार ठाकुरले समस्या समाधानको अग्रसरता लिएका थिए।
“पत्रकारिताको मूल आत्मा समाजसेवा हो। समस्या देख्दा समाचार मात्र लेख्ने होइन, समाधानको बाटो देखाउने पनि पत्रकारको कर्तव्य हो,” ठाकरले भने।
उनको यही सोचअनुसार सुरु गरिएको अभियानले आज मिर्चैयावासीको मन जितेको छ। स्थानीय बासिन्दाहरूले ठाकरको निःस्वार्थ पहलको खुलेर प्रशंसा गरेका छन्। एक स्थानीयले भने, “जसले रिपोर्टिङ गर्छ, उसैले हातमा गह्रा लगाएर सडक बनाउने काम गर्छ भन्ने कल्पना गरेका थियैनौं। तर ठाकुर सरले त्यो काम गरेर देखाउनुभयो।”
अभियानले न केवल सरसफाई र सडक मर्मतमा योगदान दिएको छ, तर पत्रकारिता मार्फत समाज परिवर्तन सम्भव छ भन्ने सन्देशसमेत दिएको छ। मिर्चैया जस्तो स्थानीय तहमा पत्रकारको यस्तो सक्रिय र सकारात्मक भूमिका दुर्लभ मानिन्छ।
यो अभियान पत्रकारिता, नागरिक सहभागिता र स्थानीय नेतृत्वबीचको सहकार्यको उत्कृष्ठ उदाहरण बनेको छ।




