एजेन्सी
पटना, कात्तिक ६ । बिहार विधानसभा निर्वाचन नजिकिँदै जाँदा भारतीय जनता पार्टी (बिजेपी) ले आफ्नो स्टार प्रचारक अमित शाह र जेपी नड्डाको एन्ट्री गराएको छ । पार्टीका राष्ट्रिय अध्यक्ष जेपी नड्डा र केन्द्रीय गृहमन्त्री अमित शाहले बिहीबार (२३ अक्टोबर) देखि बिहारमा चुनावी प्रचारको नेतृत्व सम्हाल्ने भएका छन् ।
दुबै शीर्ष नेता राज्यका विभिन्न जिल्लामा आमसभा सम्बोधन गर्ने र संगठनात्मक रणनीतिमा छलफल गर्ने कार्यक्रम तय गरिएको छ।
बिजेपी स्रोतका अनुसार जेपी नड्डा बिहीबार बिहान ११ बजे पटना एयरपोर्टमा अवतरण गर्नेछन् । त्यसपछि उनी सीधा औरंगाबादको गोह विधानसभा क्षेत्रतर्फ प्रस्थान गर्नेछन्, जहाँ दिउँसो १२ बजे हाई स्कूल खेल मैदान, हसपुरामा पहिलो चुनावी सभा सम्बोधन गर्नेछन्।
दोस्रो सभा वैशालीको पातेपुर विधानसभा क्षेत्रमा दिउँसो २ बजे श्री रामचन्द्र सिंह उच्च विद्यालय मैदानमा हुने तय गरिएको छ। यी सभाहरूमा ठूलो संख्यामा कार्यकर्ता र समर्थकहरू उपस्थित हुने अपेक्षा गरिएको छ।
त्यस्तै, केन्द्रीय गृहमन्त्री अमित शाह पनि २३ अक्टोबरदेखि तीन दिने बिहार दौरामा रहनेछन्। पटना पुगेपछि उनले पार्टीका शीर्ष नेताहरू र पदाधिकारीहरूसँग बैठक गरेर सीटवार रणनीति र प्रचारको समीक्षा गर्नेछन्।
२४ अक्टोबरमा शाहले सिवान र बक्सरमा आमसभा सम्बोधन गर्नेछन्, भने २५ अक्टोबरमा बिहारशरीफ, मुंगेर र खगडियामा सभाहरू हुनेछन्।
यी कार्यक्रममार्फत् बीजेपीले राज्यभर आफ्नो चुनावी उपस्थिति बलियो बनाउने प्रयास गर्नेछ।
पार्टीका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको बिहार चुनावी यात्रा सुरु हुनु अघि अमित शाह र जेपी नड्डाको यो दौरा अत्यन्तै महत्वपूर्ण मानिएको छ।
दुवै नेताले कार्यकर्तामा उत्साह भर्ने, संगठनलाई सशक्त बनाउने र एनडीए गठबन्धनलाई सुदृढ पार्ने जिम्मेवारी सम्हाल्नेछन्। पार्टीले हाल प्रत्येक विधानसभा क्षेत्रमा बुथस्तरको रणनीतिलाई अन्तिम रूप दिने तयारी गरेको छ।




