एजेन्सी, कात्तिक ६ । दिल्ली प्रहरीले बुधबार राति सीतामढीका ३ कुख्यात अपराधी सहित चार जनाको एनकाउण्टर गरेका छन । एनकाउन्टर गरिएका अपराधीहरुका तीन जना बिहार राज्यको सीतामढी जिल्लाका रहेका थिए भने एक जना दिल्लीका स्थानीय थिए। उनीहरू आसन्न बिहार विधानसभाको निर्वाचन अघि राज्यमा आतंक र हिंसा मच्चाउने योजनामा संलग्न रहेको खुलासा भएको छ।
यो संयुक्त अपरेशन दिल्ली क्राइम ब्रान्च र बिहार प्रहरीले मिलेर सञ्चालन गरेको हो।
प्रहरीका अनुसार मुठभेड बुधबार राति करिब २ः२० बजे दिल्लीको बहादुर शाह मार्ग क्षेत्रमा भएको हो। पक्राउ गर्न पुगेको टोलीमाथि अपराधीहरूले अन्धाधुन्ध गोली चलाएपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको थियो । करिब १० देखि १५ मिनेटसम्म चलेको उक्त गोलीबारीपछि इलाका त्रसित बनेको थियो। गोलीबारी रोकिएलगत्तै प्रहरीले सम्पूर्ण क्षेत्र नियन्त्रणमा लिएर घटनास्थलमा अनुसन्धान सुरु गरेको हो ।
मुठभेडमा मारिएका अपराधीहरूको पहिचान रञ्जन पाठक (२५), बिमलेश महतो उर्फ बिमलेश साहनी (२५), मनीष पाठक (३३) – यी तीनै जना बिहारको सीतामढी जिल्लाका थिए। चौथो अपराधी अमन ठाकुर (२१) दिल्लीका बासिन्दा हुन्।
प्रहरीका अनुसार उनीहरू लूटपाट, हत्या, रंगदारी र अवैध हतियार कारोबारजस्ता गम्भीर अभियोगमा संलग्न थिए र केही महिनादेखि दिल्लीमा लुकेर बसेका थिए।
सूत्रका अनुसार प्रहरीलाई जानकारी प्राप्त भएको थियो कि ती अपराधीहरूले दिल्लीमा ठूलो घटना घटाउने तयारी गरिरहेका छन्। पक्राउ गर्ने क्रममा उनीहरूले गोली चलाएपछि प्रहरीले जवाफी कारबाही गरेको र गोली लागेर चारै जना घाइते भएका थिए।
उनीहरूलाई तुरुन्तै डॉ. बी.एस.ए. अस्पताल, रोहिणी लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। शवहरूलाई पोस्टमार्टमका लागि पठाइएको छ।
घटनास्थलबाट प्रहरीले एके–४७ राइफल, दुई पिस्तौल, ठूलो मात्रामा कारतूस र चार मोबाइल फोन बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानले समूहले बिहारमा हुने राजनीतिक सभा र नेताहरूमाथि आक्रमण गर्ने योजना बनाएको देखाएको छ।




