सरकार बनेपछि पाँच वर्षभित्र एक करोडलाई रोजगार दिने नीतीशको घोषणा



एजेन्सी, कात्तिक ८ । बिहारका मुख्यमन्त्री नीतीश कुमारले दानापुरमा आयोजित जनसभामा आगामी पाँच वर्षभित्र राज्यका युवाहरुलाई एक करोड रोजगार अवसर प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्।

जनता दल (युनाइटेड) का नेता तथा मुख्यमन्त्री कुमारले भने, “हाम्रो सरकारले १० लाखलाई सरकारी रोजगारी दिइसकेको छ र ४० लाख युवालाई रोजगारीको अवसर उपलब्ध गराइएको छ। अब आगामी पाँच वर्षमा एक करोड युवालाई रोजगार दिने लक्ष्य लिएको छौँ।”

उनले विगतका सरकारको कार्यकालमा राज्यले भोगेका चुनौतीहरूबारे उल्लेख गर्दै शिक्षा, स्वास्थ्य सेवा र आधारभूत संरचना विकासमा प्राथमिकता दिने बताए। उनले भने, “पहिले समाजमा धार्मिक विवादहरू थिए, शिक्षा सबैका पहुँचमा थिएन, स्वास्थ्य सेवाको अवस्था कमजोर थियो र विद्युत आपूर्तिमा अभाव थियो। हाम्रो सरकारले यी सबै क्षेत्रमा सुधार ल्याएको छ।”

मुख्यमन्त्री कुमारले जनसभामा बोल्दै भने, “जब हाम्रो सरकार गठन भयो, त्यतिबेला पटना र राज्यको विकासले गति लियो। आजको युवाले त्यो परिवर्तन बुझ्नुपर्छ।”

शिक्षा र स्वास्थ्य सुधारमा जोड

नीतीशले भने, “बिहार लोक सेवा आयोगमार्फत २ लाख ५८ हजार शिक्षकहरूको नियुक्ति गरिएको छ। २००६ देखि प्राथमिक स्वास्थ्य केन्द्रहरूमा निःशुल्क औषधि र उपचार सेवा सुरु गरेका थियौं। पहिले दैनिक ३९ जना बिरामी उपचार गर्न आउँथे, अहिले हरेक महिनामा औसत ११ हजार ६ सय बिरामी सेवा लिन आउँछन्।”

पूर्वाधार र महिला सशक्तिकरण

मुख्यमन्त्रीले राज्यभर पुल, बाइपास र एलिभेटेड सडक निर्माणमा जोड दिएको बताए। साथै उनले भने, “राज्यभर नयाँ मेडिकल कलेजहरू निर्माण भइरहेको छ। पहिले ६ मात्र थिए, अहिले १२ पुगेका छन्।”

महिला सशक्तिकरणका बारेमा उनले भने, “१ करोडभन्दा बढी महिलालाई व्यवसाय सुरु गर्न १० हजार रुपैयाँ सहयोग गरिएको छ। तीमध्ये १.२१ करोड महिलालाई रकम वितरण भइसकेको छ र बाँकीलाई चाँडै उपलब्ध गराइनेछ। सफल व्यवसाय चलाउने महिलालाई थप २ लाख रुपैयाँ सहयोग दिइनेछ।”

२०२५ को बिहार चुनावी परिदृश्य

आगामी बिहार विधानसभा चुनावमा मुख्य प्रतिस्पर्धा राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) र महागठबन्धनबीच हुने देखिन्छ। एनडीएमा भारतीय जनता पार्टी (भाजपा), जनता दल (युनाइटेड), लोक जनशक्ति पार्टी (रामविलास), हिन्दुस्तान आवाम मोर्चा (सेक्युलर) र राष्ट्रिय लोक मोर्चा समावेश छन्।

महागठबन्धनमा राष्ट्रिय जनता दल (राजद), कांग्रेस, भारतीय कम्युनिष्ट पार्टी (माओवादी–लेनिनवादी), भारतीय कम्युनिष्ट पार्टी (CPI), मार्क्सवादी कम्युनिष्ट पार्टी (CPM) र विकासशील इन्सान पार्टी (VIP) रहेका छन्।

यसका अतिरिक्त प्रशान्त किशोर नेतृत्वको जन सुराज पार्टीले राज्यका सबै २४३ सिटमा उम्मेदवारी दिने घोषणा गरेको छ।
बिहार विधानसभा चुनावका लागि मतदान नोभेम्बर ६ र ११ मा हुने र नतिजा नोभेम्बर १४ मा सार्वजनिक हुने तय गरिएको छ।

प्रकाशित मिति: २०८२ कार्तिक ८, शनिबार ०९:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको