काठमाडौं , कात्तिक ८ । जेनजी आन्दोलनका क्रममा दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बर्दिया बढैयाताल गाउँपालिका–३ घर भई काठमाडौंको कपनमा बस्दै आएका १७ वर्षीय अनिश गिरी र झापा झिलझिले घर भई काठमाडौंको मालिगाउँ आनन्द भैरव मार्गमा बस्ने १६ वर्षीय सोनम थापा मगर रहेका छन्।
प्रहरी प्रभाग कोटेश्वरको टोलीले शुक्रबार राति नरेफाँटमा नियमित चेकजाँचका क्रममा शंकास्पद रूपमा रहेका गिरीलाई नियन्त्रणमा लिएको थियो। थप अनुसन्धानका क्रममा उनको साथबाट प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको ३ थान गोली फेला परेको प्रहरीले जनाएको छ।
गिरीको बयानका आधारमा प्रहरीले झापाका थापा मगरको कोठामा समेत खोजी गर्दा “३११ २३” लेखिएको पेस्तोलको २ थान गोली फेला पारेको हो।
दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।




