काठमाडौं, कात्तिक ९ । सरकारमा थपिने चार जना नयाँ मन्त्रीको नाम टुंगो लागेको छ । उनीहरूको आजै शपथ ग्रहणको तयारी भइरहेको स्रोतले जनाएको छ।
नयाँ मन्त्रीहरूमा डा. सुधा शर्मा गौतम, गणपतिलाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता रहेका छन्। गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइने भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले चारै जनाको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेकी छन्। स्रोतका अनुसार आजै उनीहरूले शपथ ग्रहण गर्ने तयारी छ। राष्ट्रपति कार्यालयले शपथको समय छिट्टै सार्वजनिक गर्ने बताएको छ।
डा. सुधा शर्मा गौतम स्वास्थ्य मन्त्रालयकी पूर्वसचिव र स्त्री–प्रसूति रोग विशेषज्ञ हुन्। उनले ‘सिंहदरबारको घुम्ने मेच’ र ‘अप्रमेय’ पुस्तक लेखेकी छिन्। सम्भावित स्वास्थ्य मन्त्रीको रूपमा चर्चामा रहेकी संगीता कौशल मिश्रामाथि अख्तियारले मुद्दा दायर गरेपछि प्रधानमन्त्री कार्कीले गौतमलाई रोजेकी हुन्।
गणपतिलाल श्रेष्ठ सम्पदा संरक्षण अभियन्ता हुन्। उनले रानीपोखरी, बसन्तपुर दरबार क्षेत्रलगायतका सम्पदा संरक्षणमा सक्रिय भूमिका खेलेका छन्। श्रेष्ठले अक्सफोर्ड विश्वविद्यालयमा समेत नेपाली सम्पदा संरक्षणबारे प्रस्तुति दिएका थिए।
खगेन्द्र सुनार दलित अधिकारकर्मी हुन्। उनले संवैधानिक पद र राजनीतिक नियुक्तिमा दलित प्रतिनिधित्वको माग गर्दै काठमाडौंमा नेल ठोकी प्रदर्शन गरेका थिए। रुकुम पश्चिममा भएको नवराज विक हत्या घटनापछि उनी निरन्तर न्यायका लागि सडकमा उत्रिएका थिए।
बब्लु गुप्ता सामाजिक अभियन्ता हुन्। उनले कोभिड–१९ महामारीका बेला निःशुल्क खाना अभियान सञ्चालन गरेका थिए र त्यसअघि ‘कपडा बैंक’ अभियान सुरु गरेका थिए। ‘हन्ड्रेड ग्रुप’ मार्फत विद्यार्थीहरूलाई पढाउने र बिरामीका लागि रगत खोज्ने कार्यमा पनि उनी सक्रिय छन्।
गणपतिलाल श्रेष्ठ र बब्लु गुप्ता दुबैजना अनलाइनखबरको “४० वर्षमुनिका ४० प्रभावशाली युवा” सूचीमा पनि परेका छन्।




