एकताको तयारीले माओवादी र एस दुवैतिर तरंग, ‘माओवादी ब्रान्ड’ नछाड्न प्रचण्डमाथि दबाब



काठमाडौं, कात्तिक ९ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकताको तयारीले दुवै दलमा तरंग ल्याएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच एकताको सहमति नजिकिँदै जाँदा, दुवै पार्टीभित्र असन्तुष्टि बढेको छ।

माओवादी पंक्तिमा ‘‘माओवादी नाम र हँसिया–हथौडा चिन्ह’ नछाड्ने दबाब तीव्र बनेको छ भने समाजवादीभित्र पनि तत्काल एकताको विपक्षमा ठूला नेताहरू उभिएका छन्।

माओवादीभित्र धेरै नेताहरूले पार्टीको नाम, चिन्ह र जनयुद्धको भावना जोगाइराख्नुपर्ने आग्रह गरेका छन्। युवा नेता केशव रावल भन्छन्, “विचार र सिद्धान्तमा सम्झौता नगरी मात्र एकता सम्भव छ।”

त्यस्तै, बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले “माओवादी हटाएर समाजवादी राख्ने मानसिकता गलत हो” भन्दै स्पष्ट सन्देश दिएका छन्।

पार्टी सचिव दिनानाथ शर्माले भने “नाम र चिन्हसहितका विषयमा छलफल जारी” रहेको र “अन्तिम निष्कर्ष अझै बाँकी” रहेको बताए।

पार्टीभित्रै नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मानिकट समूह पनि प्रचण्डको कार्यशैलीप्रति असन्तुष्ट देखिन्छ। मंसिरमा महाधिवेशन हुने भनिए पनि त्यसअघि नै प्रचण्डले एकता टुङ्ग्याउने रणनीति बनाएका छन्।

नेकपा (एस) भित्र पनि एकताको विषयमा रडाको छ। वरिष्ठ नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ठूला नेताहरू तत्काल एकताको विपक्षमा छन्।
पार्टीका उपप्रचार प्रमुख दामोदर अर्यालले भने, “एकताको आधार नै निर्माण नगरी गरिने वार्ता एकपक्षीय हुनेछ।”

उपाध्यक्ष प्रकाश ज्वालाका अनुसार, नाम, चिन्ह र संगठनको मोडालिटीबारे विभिन्न विकल्पमा छलफल जारी छ। “नीतिगत रूपमा धेरै भिन्नता छैन, तर टुङ्गो लागिसकेको छैन,” उनले बताए।

यसैबीच, समाजवादी मोर्चाका संयोजक र नेकपाका महासचिव ८८नेत्रविक्रम चन्द ‘विप्लव’८८ले कम्युनिस्ट एकताको आवश्यकता बढेको बताउँदै पनि तत्काल एकताको पक्षमा नदेखिएका छन्।
विप्लवका अनुसार, “एकता केवल संगठनात्मक होइन, विचार, सिद्धान्त र जीवन व्यवहारमा पनि एकरूप हुनुपर्छ।”

माओवादी–समाजवादी एकताको चर्चा त चर्किंदै छ, तर नाम, चिन्ह र नेतृत्वको टुङ्गो नलागेसम्म एकता सहज देखिँदैन। प्रचण्डमाथि ‘माओवादी ब्रान्ड’ जोगाउन दबाब बढ्दै गएको छ भने माधव नेपाल पक्षमा पनि एकताको विरोध तीव्र बनेको छ।

प्रकाशित मिति: २०८२ कार्तिक १०, आइतवार १०:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको