जनकपुरधाम, कातिक १० । जनकपुरधाम उप–महानगरपालिकाका पूर्व मेयर तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रिय सदस्य लालकिशोर साहले छठ पर्वको शुभकामना व्यक्त गरेका छन् ।
छठ पर्वको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, “यस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति एवं विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।”
छठ पर्वले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि थप सहयोग पुग्ने पूर्व मेयर साहको भनाइ छ । सूर्य, जल र पृथ्वीप्रति श्रद्धा गर्दै छठी माताको पूजा, अर्चना र व्रत गरी रातभर खोला, पोखरी तथा तालतलैयाको किनारमा जाग्राम बसी धूमधाम एवं हर्षोल्लासका साथ यो पर्व मनाउने चलन छ ।
छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर शुभ हुँदै जाने जनविश्वास छ । पूर्व मेयर साहले भनेका छन्, “सूर्यविना पृथ्वीमा जीवन सम्भव नरहने सन्दर्भलाई आत्मसात् गर्दै तन, मन लगाएर कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म जल प्रवाह हुने स्थानमा रहेर अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ्य दिएर पूजा आराधना गरी यो पर्व मनाउनाले मानिसलाई प्रकृतिप्रतिको दायित्व र पर्यावरणीय चेतना एवं पारिवारिक र सामाजिक ऐक्यबद्धता प्रकट गर्न सहयोग पुग्ने देखिन्छ ।”
पूर्व मेयर साहले छठ पर्वलाई प्रकृतिसँगको प्रगाढ प्रेम र आस्थाको प्रतीक उल्लेख गर्दै नहाय–खाय, खरना, अस्ताउँदो सूर्यलाई अर्घ्य र उदाउँदो सूर्यलाई अर्घ्य जस्ता धार्मिक अनुष्ठानका साथ मनाइने यो पर्व नयाँ पिँढीमा पुस्तान्तरण हुँदै जानु सकारात्मक भएको बताएका छन् । छठ पर्वले हामीलाई खराब आचरण, व्यवहार र विचार त्याग्न प्रेरित गर्ने उनको भनाइ छ ।
सन्देशमा भनिएको छ, “अस्ताउँदो र उदाउँदो सूर्यदेवको पूजाआराधना गर्नु यो पर्वको विशेषता हो, सम्पूर्ण पृथ्वीलाई ऊर्जा र जीवन प्रदान गर्ने सूर्य देवता तथा परिवारजनको सुदीर्घ स्वास्थ्य प्रदान गर्ने छठी मैँयाको आराधनाले हामीलाई जीवनको स्रोतप्रति कृतज्ञ हुन सिकाउँदछ ।”
निर्जला व्रत बसी नदी, तलाउ र जलाशयका पवित्र घाटहरूमा उभिएर अर्घ्य अर्पण गर्ने श्रद्धालुहरूको भक्तिभाव एवं आस्थाले मन, वचन र कर्ममा पवित्रता र शुद्धताको सञ्चार गर्ने विषय पनि शुभकामना सन्देशमा समावेश छ ।




