काठमाडौं , कार्तिक १२ । सोलुखुम्बुको लुबुचेमा आज बिहान अल्टिच्युट एयरको हेलिकप्टर दुर्घटना भएको छ। सो हेलिकप्टरले उद्धार कार्यका लागि काठमाडौंबाट उडान भरेको थियो।
सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेका अनुसार हेलिकप्टर लुबुचेमा अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटनाग्रस्त भएको हो। उनले भनिन्, “ल्याण्डिङको क्रममा हेलिकप्टर असन्तुलित भएर चिप्लिएर दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।”
दुर्घटनाको समयमा हेलिकप्टरमा यात्रु नभएको र पाइलटलाई सकुशल उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताइन्। पाइलटलाई अहिले स्वास्थ्य परीक्षणका लागि सुरक्षित स्थानमा ल्याइएकाे जनाइएको छ।
घटनास्थलमा स्थानीय सुरक्षाकर्मी र उद्धार टोली पुगेका छन्। प्रारम्भिक अनुमान अनुसार, उच्च हावाहुरी र चिसो मौसमका कारण अवतरण कठिन बनेको थियो।
सोलुखुम्बुको हिमाली क्षेत्र लुबुचे विश्वप्रसिद्ध एवरेस्ट क्षेत्रमा पर्ने भएकाले त्यहाँ उद्धार उडानहरू नियमित हुने गर्दछन्। यसअघि पनि उक्त क्षेत्रमा मौसमका कारण हेलिकप्टरहरूलाई अवतरणमा समस्या हुने गरेको अधिकारीहरूले बताएका छन्।
सरकारले घटनाको विस्तृत छानबिनका लागि टोली खटाउने तयारी गरेको बताइएको छ।




