काठमाडौं, कात्तिक १३ । आईसीसी विश्व लिग २ क्रिकेट अन्तर्गत नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध दोस्रो एकदिवसीय (ओडिआई) खेल खेल्दैछ।
दुबईस्थित आईसीसी एकेडेमी मैदानमा हुने खेल नेपाली समय अनुसार विहान सवा ११ बजे सुरु हुनेछ।
जारी सिरिजमा दुवै टोली पहिलो खेलमा अमेरिकासँग पराजित भएका थिए। नेपालले अमेरिकाविरुद्ध १०६ रनको लज्जास्पद हार बेहोरेको थियो भने यूएई ४ विकेटले पराजित भएको थियो। त्यसैले दुवै टोली आज पहिलो जितको खोजीमा रहनेछन्।
अहिलेसम्म नेपाल र यूएईबीच १५ पटक ओडिआई भिडन्त भएको छ। नेपालले ९ खेल जितेको छ भने यूएईले ६ खेल आफ्नो पक्षमा पारेको छ।
लिग–२ को अद्यावधिक अंकतालिका अनुसार, अमेरिका २२ खेलमा ३२ अंकसहित शीर्ष स्थानमा छ भने स्कटल्याण्ड ३० अंकका साथ दोस्रो स्थानमा रहेको छ।
त्यस्तै, नेपाल १७ खेलमा १२ अंकका साथ सातौं स्थानमा छ भने यूएई १७ खेलमा ६ अंकसहित पुछारमा छ।




