एजेन्सी, कात्तिक १३ । रूसले नयाँ परमाणु क्षमतायुक्त टोरपीडो ‘पोसाइडन’ को सफल परीक्षण गरेको घोषणा गरेको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो हतियारले समुद्रमा रेडियोधर्मी लहरहरू उत्पन्न गरी तटीय ठूला शहरहरू समेत बसोबास योग्य नरहने बनाउन सक्ने दावी गरेका छन्।
परीक्षण गरिएको पोसाइडन स्वचालित पनडुब्बी–प्रक्षेपित टोरपीडो हो र यसमा सानो न्यूक्लियर रिएक्टर जडान गरिएको छ। पुटिनका अनुसार यसको शक्ति रूसको सर्वाधिक शक्तिशाली मिसाइल ‘सरमत’ भन्दा बढी हुन सक्छ। स्रोतले यो उपकरण १ किलोमिटरभन्दा बढी गहिराईमा काम गर्न र समुद्रमा करिब ७० किमि÷घण्टा सम्मको गतिमा यात्रा गर्न सक्षम रहेको बताएका छन्। रूसी अधिकारीहरूले यसलाई अमेरिकी गतिविधिप्रति जवाफका रूपमा प्रस्तुत गरेका छन्।
राष्ट्रपति पुटिनले युद्धग्रस्त सैनिकहरूसँगको भेटमा पोसाइडनको परीक्षण र सफल सञ्चालनबारे जानकारी दिएका छन्। उनले टोरपीडोभित्र रहेको सानो आणविक उर्जा इकाइलाई सफलतापूर्वक सक्रिय पारिएको दाबी गरे, जुन प्राविधिक रूपमा पहिलेदेखि नदेखिएको उपलब्धि भएको बताइएको छ।
पोसाइडनलाई ‘प्रलयपछिको हतियार’ भनेर समेत उल्लेख गरिएको छ — यसका कारण यसले लगभग असीमित दुरीमा यात्रा गर्न सक्ने क्षमता प्राप्त गरेको छ किनभने यसलाई बाह्य इन्धन आवश्यक पर्दैन। पहिलो पटक यस परियोजनाको चर्चा सन् २०१६ मा सार्वजनिक भयो र सन् २०१८ मा पुटिनले यसलाई आधिकारिक रूपमा पुष्टि गरेका थिए।
रूसी स्रोतहरुले पोसाइडनले दुई मेगाटनसम्मको परमाणु वारहेड बोकेको हुनसक्ने अनुमान दिएका छन्। नर्वेयका अनुसन्धानकर्ताले यसलाई ‘मनोवैज्ञानिक हतियार’ को संज्ञा दिएका रहेछन् — केवल भौतिक विनाश नभएर विरोधी देशलाई डर र आशंका फैलाउने उद्देश्य पनि रहेको बताइएको छ। विशेषज्ञहरूको विचारमा यस्तो हतियार तब मात्र सक्रिय हुने सम्भावना बढी हुन्छ जब ठूलो परम्परागत वा आणविक द्वन्द्व पहिले नै सुरु भइसकेको हुन्छ।
रूसले यसअघि (अक्टोबर २१) अर्को न्यूक्लियर(चालित क्रुज मिसाइल ‘बुरेभेस्टनिकको सफल परीक्षण गरेको घोषणा गरेको थियो — जसलाई पनि असीमित दायरा भएको दाबी गरिएको थियो। यसरी केही दिनभित्र दुईवटा आणविक प्रविधि सफलता घोषित गर्नुले अन्तर्राष्ट्रिय सुरक्षा तथा रणनीतिक परिदृश्यमा तात्कालिक चिन्ता थपेको छ।






