जनकपुरधाम, कात्तिक १६ । नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी पार्टीसहितका दलहरूबीचको बहुपक्षीय पार्टी एकता घोषणा कार्यक्रम कात्तिक २० गते काठमाडौंमा हुने भएको छ।
आज बिहान बसेको माओवादी केन्द्र सचिवालय बैठकले उक्त मिति तोकेको जानकारी नेता अग्नि सापकोटाले दिएका छन्।
उनका अनुसार एकतामा माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, महिन्द्रराय यादवको नेपाल समाजवादी पार्टी, चिरन पुन (मिलन सी) समूह, प्रेमबहादुर सिंह समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी, र सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपाल सहभागी हुनेछन्।
बैठकका अनुसार एकतापछि नयाँ पार्टीको नाम ‘नेकपा समाजवादी’ राखिने र राजनीतिक सिद्धान्तमा मार्क्सवाद–लेनिनवाद मात्र रहने, माओवाद भने हटाइने सहमति भएको छ।
एकता घोषणापछि नयाँ पार्टीले निर्वाचन आयोगमा दल दर्ता आवेदन दिने तयारी गरेको छ। आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि दल दर्ता प्रमाणपत्र कात्तिक ३० गतेभित्र लिनुपर्ने समयसीमा तोकेको छ।
पार्टी एकताको विरोध गर्दै आएका नेता जनार्दन शर्मा भने आजको बैठकमा सहभागी भएका छैनन्।




