काठमाडौ, कात्तिक १६ । नेपाली कांग्रेसमा नियमित महाधिवेशनको माग गर्दै आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा युवाहरूले प्रदर्शन गरेका छन्।
प्रदर्शनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) र पार्टीका युवा कार्यकर्ताहरू सक्रिय रूपमा सहभागी थिए। उनीहरूले पार्टीमा ४० वर्ष मुनिका व्यक्तिहरूको कम्तीमा ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग अघि सारेका छन्।
प्रदर्शनकारीहरूले ‘कांग्रेस सुधार अभियान’ नामक आन्दोलनमार्फत पार्टीभित्र सुधार र रुपान्तरणको एजेन्डा अघि सार्दै नेतृत्वलाई जवाफदेही बनाउन आग्रह गरे।
कार्यक्रममा बोल्दै नेविसंघका सदस्य भूवन भट्टले भने, “मुलुकको नेतृत्व गर्नुपर्ने पार्टी आज आफ्नै आन्तरिक समस्यामा रुमल्लिएको छ। युवाले उठाएको आवाजलाई बेवास्ता गरिए कांग्रेस कमजोर बन्नेछ।”
उनले पार्टी नेतृत्वलाई तत्काल नियमित महाधिवेशन घोषणा गर्न र आम कार्यकर्ताको भावना समेटेर पार्टीलाई सुदृढ दिशातर्फ अघि बढाउन आग्रह गरे।




