एजेन्सी, कात्तिक १७ । बिहार विधानसभा चुनावको तयारीका बीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पटना शहरमा भव्य रोड शो गरेका छन्। करिब २.८ किलोमिटर लामो यो रोड शोमा प्रधानमन्त्री मोदी फूलहरूले सजाइएको विशेष रथमा सवार भएका थिए। उनीसँगै केन्द्रीय मन्त्री ललन सिंह र रविशंकर प्रसाद पनि उपस्थित थिए।
रोड शोको उद्देश्य पटना जिल्लाका १४ वटा विधानसभा क्षेत्रहरूमा एनडीएको जनसमर्थन बलियो बनाउनु र कार्यकर्तामा उत्साह जगाउनु रहेको थियो
।
जानकारी अनुसार पटना साहिब, कुम्हरार, दानापुर, दीघा, बांकीपुर र फुलवारी क्षेत्रका एनडीए उम्मेदवारहरू समेत प्रधानमन्त्री मोदीसँगै रथमा सवार भएका थिए। पार्टीले यसलाई संगठनात्मक शक्ति प्रदर्शनको रूपमा लिएको छ।
मुख्यमन्त्री नीतीश कुमार भने यो रोड शोमा सहभागी भएनन्। स्रोतका अनुसार उनी आफ्ना अन्य चुनावी कार्यक्रमका कारण उपस्थित हुन सकेनन्। यद्यपि, उनी अनुपस्थित रहे पनि एनडीए कार्यकर्ताहरूले प्रधानमन्त्री मोदीको जोशपूर्ण स्वागत गरेका छन्।
प्रधानमन्त्रीले कदमकुआँस्थित दिनकर चौकबाट रोड शोको सुरुवात गरेका थिए, जसको अन्त्य उद्योग भवन ९गाँधी मैदान०मा हुने बताइएको छ। मार्गभरि करिब दस वटा स्थानमा विशेष स्वागत बिन्दुहरू तयार पारिएका छन्, जहाँ कार्यकर्ताहरूले फूलमाला र नारा सहित प्रधानमन्त्रीलाई स्वागत गरिरहेका छन्।






