काठमाडौं, कात्तिक १७ । नेपाली कांग्रेसभित्र महाधिवेशनको समय र स्वरूपलाई लिएर चलिरहेको विवाद अझ चर्किएको छ। यही विषयमा छलफल गर्न पार्टीका शीर्ष नेताहरू आज बिहान ९ बजेदेखि ललितपुरको धोबीघाटमा बैठक बस्दै छन्।
महाधिवेशन अघि चुनावमा जाने वा नियमित महाधिवेशनपछि मात्र चुनाव गर्ने भन्ने विषयमा नेताहरूबीच दुई धार बनेका छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नयाँ नेतृत्वसहित चुनावमा जानुपर्ने पक्षमा छन् भने पूर्वपदाधिकारी समूह चुनावअघि महाधिवेशनमा जानु उचित नहुने मत राख्दै आएको छ।
गत तीन दिनदेखि निरन्तर कार्यसम्पादन समितिको बैठक हुँदै आए पनि सहमति जुट्न नसकेपछि केन्द्रीय समिति बैठक स्थगित गरिएको छ। अब केन्द्रीय समिति बैठक भोलि मंगलबारका लागि सारिएको छ।




