जसपा नेपालमा एक उपाध्यक्ष, महासचिव सहित ७ जना कार्यकारिणी थपिदै



जनकपुरधाम, कात्तिक १९ । जनता समाजवादी पार्टी नेपाल जसपाको केन्द्रिय समितिमा एक उपाध्यक्ष, महासचिव सहित सात जना कार्यकारिणी थप हुने भएको छ ।

जसपा नेपालको काठमाडौँमा जारी केन्द्रिय समितिको बैठकमा अध्यक्ष उपेन्द्र यादवले केन्द्रिय कार्यसमितिमा पदाधिकारी र कार्यकारिणी थप गर्ने प्रस्ताव पेश गरेका छन ।

अध्यक्ष यादवले प्रस्तुत गरेको प्रस्तावमा केन्द्रिय समितिमा एकजना उपाध्यक्ष, एकजना महासचिव र सात जना कार्यकारिणी सदस्य थप्ने जनाइएको छ । कार्यकारिणी सदस्यहरुमा मधेशी दलित –१, महिला–२, मुस्लिम–१ र खुला– ३ जना थप हुने छ ।

अध्यक्ष यादवको प्रस्ताव पारित भई लागु भए जसपा नेपालमा हाल ५ जना उपाध्यक्ष रहेकोमा अब ५ जना , २ जना महासचिव रहेकोमा ३ जना र ३५ सदस्यीय रहेको कार्यकारिणी समिति ४२ सदस्यीय हुने छ ।

त्यसैगरि अध्यक्ष यादवले पार्टीको विधानको धारा ९५ को उपधारा (१) मा भएको व्यवस्था बमोजिम प्रतिनिधि सभाको निर्वाचनसम्बन्धी आवश्यक कार्य गर्न विधानको धारा ९६ अनुसार काम, कर्तव्य र अधिकार रहने गरी संघीय संसदीय बोर्ड गर्ने प्रस्ताव समेत गरेका छन ।
बोर्डमा केन्द्रीय समितिका अध्यक्ष, सहअध्यक्ष, महासचिव , प्रदेश समितिका अध्यक्षहरू पदेन सदस्य रहने छन भने केन्द्रीय सदस्यहरू मध्येबाट ९ जनासम्म बोर्ड सदस्यहरू रहने व्यवस्था गरिएको छ। जसमा मधेश प्रदेशबाट ३ जना, १ नं. प्रदेशबाट २ जना, लुम्बिनी प्रदेशबाट १ जना, सु.प.र कर्णाली प्रदेशबाट १ जना, बागमती प्रदेशबाट १ जना, गण्डकी प्रदेशबाट १ जनाको प्रस्ताव गरिएको छ ।

बैठकमा अगामी प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष यादवले समान विचार, सिद्धान्त र मुद्दा मिल्ने राजनीतिक दलहरूसँग पार्टी एकता गर्न प्रयास गर्ने । विचार, सिद्धान्त नमिल्ने तर राजनीतिक मुद्दाहरू मिल्ने राजनीतिक दलहरूसँग संयुक्त मोर्चा, कार्यगत एकता वा सहकार्य गर्ने । तथा यसका अतिरिक्त अवस्था हेरी अन्य दलहरूसँग समेत सीटको तालमेल गर्न सक्ने प्रस्ताव गरेका छन ।

आजै शुरु भएको केन्द्रिय समितिको बैठकमा अध्यक्ष यादवको प्रस्ताव माथि समूहगत छलफल शुरु भएको छ । बैठक भोली सम्म चल्ने छ ।

प्रकाशित मिति: २०८२ कार्तिक २०, बुधवार १८:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको