काठमाडौं, कात्तिक १९ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका नौ वाम घटकबीच आज एकता घोषणा हुँदैछ। राजधानीको भृकुटीमण्डपमा दिउँसो १ बजे एकता घोषणा सभा आयोजना गरिएको छ।
एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ राखिने र पाँच कुने तारा चुनाव चिन्ह रहने सहमति भएको छ। सो पार्टीले आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने निर्णय पनि गरेको छ।
नयाँ पार्टीको संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल हुनेछन्। पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद र लेलिनवाद रहने बताइएको छ।
एकता प्रक्रियामा सहभागी दलहरूमा — माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी), नेकपा (साम्यवादी) र गोपाल किराँती नेतृत्वको देशभक्त समाजवादी मोर्चा रहेका छन्।
माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको मंगलबारको बैठकले एकतासम्बन्धी निर्णयलाई अनुमोदन गरिसकेको छ। भृकुटीमण्डपमा हुने सभाअघि वाम दलहरूले जनप्रदर्शन गर्ने तयारीसमेत गरेका छन्।
सभा कार्यक्रममा प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेताहरूले सम्बोधन गर्नेछन्।
तर, वाम एकताको यो प्रक्रियालाई लिएर दुबै मुख्य दलभित्र असहमति देखिएको छ। माओवादी केन्द्रका जनार्दन शर्मा, राम कार्की, अन्जना विशंखे लगायतका नेताले ‘प्रगतिशील एकता अभियान’ घोषणा गर्दै उक्त प्रक्रियामा सहभागी नहुने बताएका छन्।
त्यस्तै, एकीकृत समाजवादीका झलनाथ खनाल, धनश्याम भुसाल, रामकुमारी झाँक्री लगायतका नेताले पनि एकता विरोध गर्दै एमालेमा फर्किने सम्भावनाबारे छलफल अघि बढाएका छन्।




