कांग्रेसमा नियमित महाधिवेशन पक्षधरको भेला आज काठमाडौंमा



काठमाडौं, कात्तिक २० । नेपाली कांग्रेसभित्र नियमित महाधिवेशनको पक्षमा उभिएका नेताहरूले आज काठमाडौंमा भेला आयोजना गर्दै छन्।

विशेष महाधिवेशन माग गर्दै केही दिनअघि एक समूहले भेला गरेपछि, त्यसको जवाफस्वरूप नियमित महाधिवेशन पक्षधर नेताहरूले बिहीबार बिहान साढे ११ बजे अनुपम फुडल्यान्डमा भेला गर्न लागेका हुन्।

भेला आयोजकमध्येका एक नेताका अनुसार उक्त भेलामा पार्टीका शीर्ष तहका नेताहरूको उपस्थिति रहनेछ। कांग्रेसभित्र अहिले नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन बोलाउने भन्ने विषयमा गहिरो बहस चलिरहेको छ।

के छ विवादको मूल कारण रु
कांग्रेसका शीर्ष नेताहरू नियमित महाधिवेशनको पक्षमा उभिएका छन् भने महामन्त्री गगन थापा नेतृत्वको समूह भने विशेष महाधिवेशनको माग गर्दै आएको छ।

थापा पक्षले संकलन गरेका हस्ताक्षर २९ असोजमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो। महामन्त्री थापाले २१ फागुनमा हुने नेतृत्व चयन अघि १६–१९ पुससम्म विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन्।

उता, संस्थापन पक्षका नेताहरूको धोबिघाट भेलाले भने नियमित महाधिवेशनको कार्यतालिका तयार गर्ने निर्णय गरेको थियो। सो निर्णयअनुसार सह–महामन्त्री महेन्द्र यादवले मंगलबारको केन्द्रीय समिति बैठकमा आगामी २७–३० वैशाखसम्म नियमित महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गरेका छन्।

तर, केन्द्रीय समिति बैठकमा विशेष र नियमित महाधिवेशनका छुट्टाछुट्टै कार्यतालिका प्रस्तुत भए पनि अन्तिम निर्णय भइसकेको छैन।

प्रकाशित मिति: २०८२ कार्तिक २१, बिहिवार ०७:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको