काठमाडौं, कात्तिक २० । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका महामहिम राजदूत पार्क ताए योङ्गबीच बिहीबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।
भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, पर्यटन सहकार्य, श्रम तथा रोजगार, पूर्वाधार विकास, ऊर्जा, लगानी, र जनस्तरको सम्बन्ध लगायतका विषयमा महत्वपूर्ण छलफल भएको थियो।
कार्यवाहक राष्ट्रपति यादवले हालै सम्पन्न ८८‘जेनजी आन्दोलन’८८को पृष्ठभूमि उल्लेख गर्दै नेपालमा नयाँ सरकार गठन भइसकेको जानकारी गराउनुभयो र लोकतान्त्रिक यात्राप्रति नेपालको प्रतिबद्धता दोहोर्याउनुभयो। उहाँले आगामी फागुन २१, २०८२ ९५ मार्च २०२६० मा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख कार्यभार रहेको बताए।
उहाँले नेपाल–कोरिया सम्बन्धको ५०औं वार्षिकोत्सव सफलतापूर्वक मनाइएको स्मरण गर्दै, दुई देशबीचको सम्बन्ध मैत्रीपूर्ण, आपसी सम्मान र समझदारीमा आधारित रहेको बताउनुभयो। कोरियाली सहयोगले नेपालको सामाजिक–आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै आगामी दिनमा सहकार्यलाई अझ गहन बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यवाहक राष्ट्रपति यादवले ईपीएस कार्यक्रममार्फत नेपाली युवालाई रोजगारीको अवसर उपलब्ध गराएकोमा कोरियाली सरकारप्रति धन्यवाद व्यक्त गर्दै, नेपालको उच्च प्राथमिकतामा रहेको नेपाल–कोरिया सम्बन्धको महत्व औंल्याउनुभयो। साथै, कोरियाली पर्यटकको नेपालप्रतिको आकर्षण, विशेषगरी पदयात्रा र पर्वतारोहणमा उल्लेखनीय रहेको र धार्मिक–सांस्कृतिक समानताले सम्बन्धलाई अझ सुदृढ बनाएको धारणा व्यक्त गर्नुभयो।
महामहिम राजदूत पार्क ताए योङ्गले नेपालप्रति कोरियाली सरकारको सद्भाव, सहयोग र मित्रता निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले ‘जेनजी’को मागअनुसार बनेको नेपाल सरकारलाई कोरियाको समर्थन रहेको र आगामी निर्वाचनमा सहयोग र शुभकामना प्रदान गरेको उल्लेख गर्नुभयो।
राजदूत योङ्गले विगत ३० वर्षदेखि कोरियाले नेपालको शिक्षा, कृषि, र आईटी क्षेत्रमा सहयोग गर्दै आएको स्मरण गर्दै, रोजगारका लागि कोरिया जाने नेपालीको संख्या बढाउन आफ्नो देश तयार रहेको जानकारी दिनुभयो। साथै, धेरै कोरियाली कम्पनी नेपालमा आउन इच्छुक रहेको र द्विपक्षीय सम्बन्धलाई अझ सशक्त बनाउने दिशामा कोरियाली पक्षबाट आवश्यक सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।




