दिदीबहिनीले दाजुभाइप्रति कृतज्ञता व्यक्त गर्दै सामाचकेवा पर्वको समापन



श्याम कुमार ठाकुर
सिरहा, कात्तिक २० । मिथिला क्षेत्रका दिदीबहिनीले दाजुभाइप्रति प्रेम, समर्पण र कृतज्ञता प्रकट गर्दै सामाचकेवा पर्व विधिपूर्वक सम्पन्न गरेका छन्।

कात्तिक पूर्णिमाका दिन मनाइने यो पर्वमा दिदीबहिनीहरूले दाजुभाइका हातबाट माटाका आकृतिहरू घुँडामा राखेर फुटाउने र ती आकृतिहरूलाई जोतिएको खेत वा निर्जन वनमा गाडेर समापन गर्ने परम्परा छ।

सामाचकेवा पर्वका क्रममा महिलाहरूले सामा–चकेवा, चुगला, साम्ब, चक्वा आदि विभिन्न माटाका आकृतिहरू बनाउँछन्। रातिको समयमा समूहमा भेला भएर सामा गीत गाउने, दाजुभाइको स्नेह र सौर्यको बखान गर्ने र नाचगानमा रमाउने चलन रहिआएको छ।

मिर्चैया–५ की पूजा ठाकुर भन्छिन्, “साथीहरूसँग गीत, ख्यालठट्टा र रमाइलोमा ११ दिन कसरी बित्यो, पत्तै लाग्दैन।”

द्वापरयुगको पौराणिक कथाअनुसार, श्रीकृष्णकी छोरी सामा र उनका प्रेमी चक्रधर ९चकेवा० बीचको सम्बन्ध चुगला नामक चराले कृष्णलाई बताउँछन्। रिसले कृष्णले सामा र चकेवालाई चरामा परिणत गरिदिन्छन्। पछि कृष्णका पुत्र साम्बले शिवजीको तपस्या गरी पितालाई प्रसन्न पारी उनीहरूलाई श्रापमुक्त गराई विवाह गराइदिन्छन्।

दाजु साम्बको यही गुन सम्झँदै दिदीबहिनीहरूले दाजुभाइप्रति कृतज्ञता प्रकट गर्ने पर्वका रूपमा सामाचकेवा मनाउने परम्परा बसेको जनविश्वास छ।

पर्वको अन्तिम दिन दिदीबहिनीहरूले दाजुभाइलाई मिष्ठान्न परिकार खुवाउने र दाजुभाइले गच्छेअनुसार वस्त्र वा नगद दक्षिणा दिने चलन रहिआएको छ।

दिदीबहिनी र दाजुभाइबीचको आत्मीयता, स्नेह र संस्कृतिको प्रतीक मानिने यो पर्व मिथिला क्षेत्रभर हर्षोल्लासका साथ मनाइन्छ।

प्रकाशित मिति: २०८२ कार्तिक २१, बिहिवार ०८:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको