बिहार बिधानसभा निर्वाचन : पहिलो चरणमा रेकर्ड मतदान



एजेन्सी, कात्तिक २१ । बिहीबार सम्पन्न भएको बिहार बिधानसभा निर्वाचनको पहिलो चरणको मतदानमा उत्साहजनक सहभागिता देखिएको छ। निर्वाचन आयोगका अनुसार करिब ६४.४६ प्रतिशत मतदान भएको छ, जुन पछिल्ला वर्षहरूमा सबैभन्दा उच्च दर मानिएको छ।

जन सुराजका संस्थापक प्रशान्त किशोरले गया स्थित पत्रकारहरूसँग कुरा गर्दै भने, “यो मतदान दरले बिहारमा भइरहेको परिवर्तनको संकेत दिएको छ। जनता अब नयाँ विकल्प खोज्दैछ, १४ नोभेम्बरपछि नयाँ व्यवस्था सुरु हुनेछ।” उनले दाबी गरे कि जन सुराजको सन्देश गाउँ–गाउँसम्म पुगिसकेको छ।



त्यसैबीच बिहारका उपमुख्यमंत्री विजय कुमार सिन्हाले लखीसरायमा पत्रकारहरूसँग भने, “जनताले फेरि पनि डबल इन्जिन सरकारप्रति विश्वास देखाएका छन्। विपक्षी नेताहरूले हाम्रो हारको भविष्यवाणी गरेका थिए, तर जनताले स्पष्ट जवाफ दिएका छन्।” उनले लखीसरायलाई ‘हट सिट’ भन्दै विपक्षी राजनीति अस्वीकृत भएको टिप्पणी गरे।

मुख्य निर्वाचन अधिकारी विनोद गुंज्यालका अनुसार पहिलो चरणको मतदान सामान्य र शान्तिपूर्ण रह्यो। उनले भने, “कतिपय स्थानमा अझै मतगणना डाटा अद्यावधिक भइरहेको छ। महिलाको सहभागिता उल्लेखनीय रह्यो।” उनका अनुसार १६५ ब्यालट युनिट, १६९ कन्ट्रोल युनिट र ४८० भिभिप्याट परिवर्तन गरिएका छन्।

एडिजी कुन्दन कृष्णनले जानकारी दिँदै भने कि मतदानका क्रममा राज्यभर दुई–तीन साना घटनाबाहेक कुनै गम्भीर समस्या देखिएन। लखीसरायमा सडक निर्माण विषयमा विवाद हुँदा उपमुख्यमन्त्री सिन्हालाई विरोधको सामना गर्नुपरेको थियो, तर प्रशासनले तत्काल स्थिति नियन्त्रणमा लियो।

पहिलो चरण शान्तिपूर्वक सम्पन्न भएपछि अब ११ नोभेम्बरमा दोस्रो चरणको मतदान हुने छ। त्यसपछि १४ नोभेम्बरमा मतगणना हुँदैछ, जसले निर्णय गर्नेछ कि जनता परिवर्तनको पक्षमा छन् वा स्थिर सरकारको निरन्तरताको।

प्रकाशित मिति: २०८२ कार्तिक २१, शुक्रबार ०७:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको