काठमाडौँ , कात्तिक २१ । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का पूर्वअध्यक्ष डा। बाबुराम भट्टराईलाई सर्वमान्य नेता बनाएर एक दल बनाउने प्रयास भइरहेको छ । तत्कालीन माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा, तत्कालीन नेकपा एसका महासचिव घनश्याम भुसाल र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सहितका नेताहरूको बारम्बारको छलफलले प्रगतिशील विचारलाई आत्मसाथ गर्नेहरूबीच एक दल बनाउने प्रयास अघि बढेको हो ।
उक्त दलका लागि पूर्वप्रधानमन्त्री भट्टराईलाई अभिभावकत्व मानेर एउटै दलको स्वरूप दिने तयारी अन्तिम चरणमा पुगेको शर्मानिकट एक नेताले शिलापत्रलाई जानकारी दिए ।
उनका अनुसार भट्टराईलाई कार्यकारी नेतृत्व दिन भने लागिएको होइन । ‘दल बन्ने प्रक्रिया अलिक परै छ । अहिले प्रगतिशील विचार बोक्ने व्यक्ति, समूह वा दललाई एउटै ठाउँमा उभिने सैद्धान्तिक धरातल बनाउन खोजीएको हो,’ ती नेताले भने, ‘राष्ट्रिय, अन्तर्राष्ट्रिय जगतले मानेको र बौद्धिक व्यक्तित्व भएको हुनाले भट्टराई अब हामी सबैको साझा सम्पत्तिको रूपमा बस्नुहुनेछ ।’
उनले यसअघि पत्रकार सम्मेलनमार्फत नै भट्टराईले आफू कुनै पनि कार्यकारी भूमिकामा नरहने स्पष्ट पारिसकेको र आफ्नो दलको नेतृत्व छाडिसकेको बताए । ती नेताका अनुसार अब बन्ने प्रगतिशिल लोकतान्त्रिक दल पहिले साझा फोरमको रूपमा निर्माण हुनेछ । जस अनुसार विचार मिल्नेहरूलाई उक्त फोरममा एकाकार गर्नेगरी विभिन्न समूहहरूसँग भट्टराई आफैँले छलफल गरिरहेका छन् ।
बिहीबार मात्रै भट्टराईले जेन–जी अगूवाहरूसँग राजनीतिक संवाद चलाएका थिए । उनले उक्त भेलामा जेन–जी अगूवाहरूसँग सरकार पक्षसँग तत्काल लिखित सहमति गर्न र दलीय रूपमा गोलबद्ध हुन आग्रह गरेका थिए । ‘प्राप्त उपलब्धि गुम्ने खतरा छ । आन्दोलनलाई अपराधिकरण गरिने जोखिम बढ्दै छ । सरकारसँग लिखित सम्झौता गरिहाल्नुपर्छ । नत्र हात्ती आयो हात्ती आयो फुस्सा होला’, जेन–जी आन्दोलनका अगुवासँग भट्टराईले भनेका थिए ।
शुक्रबार बिहानै ललितपुरस्थित विप्लव निवासमा नेताहरू भुसाल र शर्मा पुगेका थिए । नेकपा महासचिव विप्लवले दिएको जानकारीअनुसार तीन पार्टीमा रहेका नेता–कार्यकर्ता मात्रै नभई प्रगतिशील विचारधारा बोकेका शक्तिहरूबीच ‘नयाँ कम्युनिस्ट केन्द्र’ बनाउने बारे छलफल भएको हो । उनले मूलतः तीन विषयमा छलफल भएको बहादुर भवनस्थित निर्वाचन कार्यालयमा भेला भएका सञ्चारकर्मी माझ जानकारी दिए ।




