कमरेड प्रचण्डलाई १२ प्रश्न



काठमाडौं ,कात्तिक  २२ । सर्वप्रथम, तपाईंको स्वास्थ्य तथा विभिन्न कम्युनिस्ट पार्टीहरूबिच भइरहेको एकता प्रयासको शुभकामना व्यक्त गर्छु । विचार, कार्यदिशा, कार्यक्रम र नयाँ नेतृत्वसहितको वास्तविक एकता होस भन्ने कामना पनि गर्न चाहन्छु । तर जनयुद्धका सबै उपलब्धिहरू समाप्त पारेर गरिने एकतामा केही आशङ्का, केही प्रश्न र केही जिज्ञासाहरू उठेका छन् ।

यो खुल्ला पत्रमार्फत केही प्रश्नहरूमा तपाईंबाट प्रस्ट हुने अपेक्षा गरेको छु । यहाँ उठाइएका प्रश्न र जिज्ञासाहरू कुनै आग्रह, पूर्वाग्रहबाट नभई क्रान्तिप्रतिको चिन्ता र माओवादी घटकहरूबिच देखिएको एकता प्रक्रियाको अलमलका कारणले हो भन्ने पनि सविनय आग्रह गर्न चाहन्छु ।

आदरणीय कमरेड, तपाईं जनयुद्धले जन्माएका सबैको अभिभावक हो । त्यसैले अभिभावकका रूपमा आफ्ना कमजोरीहरू सुधार गर्नका लागि गरिएको आलोचनालाई तपाईंले धैर्यतापूर्वक सुन्नु हुनेछ र त्यसलाई ग्रहण गर्ने क्षमता राख्नु हुन्छ भन्ने अपेक्षा गर्छु ।

तपाईं जनयुद्धको अभिभावक मात्र होइन, नेपाली कम्युनिस्ट आन्दोलनको पनि अभिभावक हो । किनभने जनयुद्धमा तपाईंले लिएको पहलकदमी र खेलेको भूमिका अतुलनीय छ । त्यसप्रति म हृदयदेखि उच्च सम्मान व्यक्त गर्छु । यसमा हामीले गौरव गर्नैपर्छ । यो देशमा जनयुद्ध नभएको भए हामी अर्थात् उत्पीडित, सीमान्तकृत र वर्गीय रूपमा रसातलमा पुर्‍याइएकाहरू यो स्थानमा हुने थिएनौँ । यो देश यहाँ आई पुग्ने थिएन ।

त्यसैले मालेमावाद र प्रचण्डपथको विचारमा तपाईंको एक कासनमा जनवाद, समाजवाद हुँदै साम्यवादसम्म पुग्नका लागि म जस्ता हजारौँ योद्धाहरूले जनयुद्धमा हाम फालेको स्मरण गराउन चाहन्छु ।

तपाईंलाई राम्रोसँग थाहा छ, जनयुद्ध रणनैतिक प्रत्याक्रमणको चरणमा पुगेको बेला चुनवाङ बैठकपछि पार्टीले शान्ति प्रक्रियामा प्रवेश गर्ने लाइन लियो र फलतः १२ बुँदे सम्झौता हुँदै पार्टी शान्ति प्रक्रियामा प्रवेश गर्‍यो । शान्ति प्रक्रियामा प्रवेश गरेको पनि झण्डै दुई दशक भइसकेको छ । यसबिच पार्टीमा थुप्रै आरोह–अवरोह आए ।

पार्टी बेला–बेला विभाजित भयो । र, अहिले फेरी केही समूहहरूबिच एकताको कुरा चल्दै गर्दा कमरेड प्रभाकरसहितका नेताहरू पार्टीबाट अलग हुन पुगे । पार्टी पुनः विभाजनमा पुग्यो । तथापि एकताको बहस जारी छ ।

एकताबद्ध हुनु सुन्दर पक्ष हो । तर एकता गर्दा आधा सुन्दर, आधा कुरूप । आधा सुख, आधा दुःखको परिस्थिति सबैका अघिल्तिर छ । विगतका कमी कमजोरीको गहिरो समीक्षा नगरी हुने एकतामा गति पैदा नहुने रहेछ । त्यसैले रूपान्तरणको आशा मधुरो हुँदै जाँदो रहेछ । सबैको साझा बुझाई छैन । क्रान्तिकारी दिशा छैन । त्यस्तो एकता कहाँसम्म जाने हो कसैलाई थाहा छैन ।

जनयुद्धका सबै सहयात्रीहरूले घोत्लिइनु पर्ने अवस्था छ । विगतमा कसको कमजोरीका कारण माओवादी आन्दोलन टुटफुट र विभाजित हुन पुग्यो रु जनयुद्धले निर्दिष्ट गरेका लक्ष्य र उद्देश्यहरू किन पुरा हुन सकेनन् रु एकअर्कालाई दोष दिएर उम्कने बाटो छैन । यसको सही उत्तरबिना माओवादी घटकहरू बिचको एकता र कम्युनिस्ट पार्टीहरू बिचको एकता सही गन्तव्यमा पुग्ने देखिँदैन ।

त्यसैले हालका विभिन्न एकता प्रयासहरूलाई सबैले ‘स्वार्थ समूह’ बिचको एकता र गठजोड भनिरहेका छन् । आम कार्यकर्ता र जनताको ठुलो हिस्साको यो मनोविज्ञानलाई सम्बोधन गर्न तपाईंले जबाफ दिनैपर्छ । पार्टीको मूल नेतृत्व भएका कारण धेरै प्रश्नहरू तपाईंतर्फ नै सोझिएका छन् । तर, त्यसको तपाईंले हालसम्म चित्त बुझ्दो जबाफ दिनु भएको छैन ।

यो किन पनि जरुरी छ भने तपाईंले हालै माओवाद र जनयुद्धका उपलब्धिलाई बिसाएर पार्टी एकता गर्नु भएको छ । त्यसैले तपाईंसँग म १५ बुँदामा केही प्रश्नहरू उठाउन चाहन्छु । मेरा आलोचनात्मक प्रश्न वा वाक्यांशहरू कठोर लागेमा क्षमा चाहन्छु । तथापि हामीले प्रश्न गर्ने तपाईंलाई नै हो भन्नेमा म ढुक्क र प्रस्ट छु ।

(१) तपाईंले संसदवादी दलहरूसँग १२ बुँदे सम्झौता गरी पार्टीलाई शान्ति प्रक्रियामा ल्याएपछि ०६२र०६३ को दोस्रो जनआन्दोलन सफल भयो । तत्कालीन राजा ज्ञानेन्द्रको निरङ्कुश शासनको अन्त्य भयो र देश सङ्घीय लोकतान्त्रिक गणतन्त्र हुँदै बुर्जुवा गणतन्त्रमा प्रवेश प्रवेश गर्‍यो । यो आंशिक उपलब्धि नै हो । तर हेक्का रहोस्, बुर्जुवा गणतन्त्रको उपलब्धिमै सीमित हुन जनयुद्ध लडिएको थिएन ।

तपाईं आफैले ‘७ डिभिजन जनमुक्ति सेना क्याम्प भित्र रहे पनि २१ डिभिजन सेना क्याम्प बाहिर बनाएर जनविद्रोह गरी बुर्जुवा गणतन्त्रलाई जनगणतन्त्रसम्म लैजान्छौँ’ भन्नु भएको थियो । त्यो कुरा अझै पनि हाम्रो कानमा गुञ्जिरहेकै छ । आफैले बोलेको कुरा पुरा नगर्ने गरी तपाईं जनयुद्धको मार्गचित्र र लक्ष्यबाट किन बिमुख हुनु भयो?

(२) जनयुद्धमा हजारौं सहिदको रगतबाट जन्मिएका जनसत्ता, जनअदालत, कम्युन, जनमुक्ति सेनालाई एकलौटी रूपमा किन विघटन गर्नु भयो ?

(३) रातारात नेपाली सेनालाई जनमुक्ति सेनाको ब्यारेक कब्जा गर्न लगाई हतियार खोस्न लगाउनु नै जनमुक्ति सेनाको सम्मानजनक समायोजन हो रु के त्यो आत्मसमर्पण र कब्जा थिएन रु के यसबारे तपाईंले जबाफ दिनु पर्दैन?

(४)जनमुक्ति सेना समायोजनको नाममा तोकिएको शैक्षिक मापदण्डसहित सम्पूर्णलाई नयाँ भर्ना प्रक्रियाबाट समायोजित गरियो । फलतः १९ हजार जनमुक्ति सेनाका योद्धाहरू मध्ये जम्मा १४ सयको नेपाली सेनामा भर्ना भयो । सेनाका धेरै कमान्डरहरू अयोग्य भई घर फर्किए । अपमानजनक रूपमा सेनाको क्याम्पबाट बाहिरिनु पर्दा उनीहरू रुँदै बाहिरिए । आज उनीहरूमध्ये अधिकांश साउदी, कतार, दुबई, मलेसियामा मजदुरका रूपमा काम गरिरहेका छन् । कोही भारतका गल्तीहरूमा जीवन धान्ने यत्न गरिरहेका छन् । के त्यसको जिम्मेवार तपाईं होइन ?

(५) जनयुद्धमा बुर्जुवा शिक्षा पढ्नु हुँदैन भन्दै अध्ययन छोडाएर हातमा बन्दुक थमाइयो । उनीहरू लडाइँका मोर्चाहरूमा अब्बल पनि भए । तर बुर्जुवा शिक्षा र डिग्री नभएकै कारण उनीहरू समाजमा दुत्कारिए? यसको जिम्मेवार उनीहरू स्वयं थिए वा तपाईं रु सेनाको समायोजन गर्ने नाममा जनमुक्ति सेनाका योद्धाहरूलाई छाती नाप्न लगाउँदा होस वा आफ्नो डिग्री पेस गर्ने मामिलामा तपाईंको आत्मा एक पटक पनि रोएन रु त्यस्तो सहमति गर्दा तपाईंको हात कामेन ?

(६)शान्ति प्रक्रियामा प्रवेश गरेपछि तपाईं तीन पटक प्रधानमन्त्री हुनु भयो । माओवादी पार्टीले चार पटक प्रधानमन्त्री पायो । तर यति हुँदा पनि तपाईंले देश र जनताका लागि स्मरण योग्य के काम गर्नु भयो?

(७)जनयुद्धको उपलब्धि के हो ? भनी आम जनताले प्रश्न गर्दा तपाईं संविधान, गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशिता हो भन्ने गर्नु हुन्छ । तर त्यो सबै आजका दिनमा दलाल पुँजीपति वर्गको हातमा छैन र रु राज्यको स्रोत–साधन, वितरणको प्रणाली उनीहरूकै कब्जामा रहेकाले त पछिल्लो समय जेनजी विद्रोह भयो । यस्तो परिस्थितिबिच वैज्ञानिक समाजवादसम्म पुग्न सकिने तपाईंको कार्यक्रम के हो ?

(८) तपाईंले नेतृत्वकै रूपमा पार्टीमा फरक मत राख्नेलाई सम्मान र व्यवस्थापन गर्न कहिल्यै रुचि देखाउनु भएन । पार्टीको दक्षिणपन्थी विचलनलाई रोक्नका लागि बारम्बार प्रयत्न गर्ने वैद्य र विप्लवको सुझाव बेवास्ता गर्नु भयो । त के पार्टी विभाजनको सुरुवात तपाईंले नै गरेको होइन?

(९) आफ्नो पार्टीलाई एकढिक्का राख्नुको सट्टा तपाईंले आफ्नो स्वार्थलाई सर्वपरी ठान्दै एमालेसँग एकता गर्नु भयो । अहिले त्यस्तै एकता माधव नेपालसँग गर्नु भएको छ । एमालेसँगको एकता टिकेन भन्ने सबैले देखेकै छन् त के यो एकता टिकाउ हुन्छ रु हुन्छ भने कसरी भनी तपाईंले जबाफ दिनु पर्दैन रु वा यो एकता तपाईंको असफलताको द्योतक हो ?

१०) ०६४ मा १२० सिटमा प्रत्यक्षबाट विजयी भएको पार्टी ०७९ सम्म आइपुग्दा १७ सिटमा समेटियो । ३१ लाख समानुपातिक मत १२ लाखमा सीमित हुन पुग्यो । यसको नैतिक जिम्मेवारी तपाईंले लिनुपर्दैन ?

११) विप्लवले एकीकृत जनक्रान्तिको घोषणा गर्दा त्यसमाथि प्रतिबन्ध लगाउनु भयो के त्यो जायज थियो ?

१२) विप्लवसँगको एकताको चर्चा हुँदा तपाईं भित्री आत्माबाटै माओवादी आन्दोलनको पुनर्गठन र रूपान्तरण गर्न किन अनिच्छुक देखिनु भयो?

प्रकाशित मिति: २०८२ कार्तिक २३, शनिवार ११:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको