पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन



ओम प्रकाश यादव
रौतहट कात्तिक २२ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन भएको छ।

उनको उपचारको क्रममा काठमाडौंको केएमसी अस्पतालमा शुक्रबार राति २ बजे निधन भएको अस्पताल स्रोतले जनाएको छ।

अफताब आलम केही समयदेखि स्वास्थ्य समस्या भोगिरहेका थिए। स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। तर चिकित्सकको प्रयासका बाबजुद पनि उनको निधन भएको परिवार स्रोतले पुष्टि गरेको छ।

रौतहटको राजपुर नगरपालिकामा जन्मिएका मोहम्मद अफताब आलम नेपाली कांग्रेसका एक प्रभावशाली नेता हुन्। उनी लामो समयदेखि रौतहट जिल्लाको राजनीतिमा सशक्त प्रभाव राख्दै आएका थिए।

२०५१ सालमा पहिलोपटक प्रतिनिधि सभामा प्रतिस्पर्धा गरेका आलमले २०६४ सालको संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसबाट रौतहट क्षेत्र नम्बर २ बाट विजयी हुँदै राष्ट्रिय राजनीतिमा प्रवेश गरे। त्यसपछि २०७० र २०७४ सालका संसदीय चुनावमा पनि उनी नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बने।

राजनीतिमा उनको छवि संगठन सुदृढ पार्न सक्ने, कार्यकर्तामैत्री र दृढ नेताका रूपमा रहेको थियो। कांग्रेस पार्टीभित्र उनी मुस्लिम समुदायका सशक्त आवाजका रूपमा परिचित थिए।

मोहम्मद अफताब आलमले वन राज्यमन्त्री र पछि श्रम तथा रोजगार मन्त्रीको रूपमा समेत जिम्मेवारी सम्हालेका थिए।
मन्त्री पदमा रहँदा उनले रोजगारी, श्रम अधिकार, र विदेशी रोजगारमा सुधारका लागि नीति निर्माणमा भूमिका खेलेका थिए।

आलमको राजनीतिक जीवन विवादरहित भने रहेन।
२०६४ सालको संविधानसभा निर्वाचनपछि रौतहटमा भएको इँटाभट्टा विस्फोट घटनामा उनको नाम जोडिँदै लामो समय कानूनी विवादमा फसेका थिए।
उनी २०७६ सालमा सो मुद्दामा पक्राउ परे पनि कही महीना पहिले अदालतबाट रिहा भएका थिए।

उनको परिवारले सो मुद्दालाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गर्दै आएको थियो।

आफ्नो राजनीतिक करियर बाहेक अफताब आलमले रौतहटमा शिक्षा, स्वास्थ्य र धार्मिक सौहार्दका क्षेत्रमा पनि योगदान दिएका थिए।
उनले मुस्लिम समुदायका युवाहरूलाई शिक्षित र सशक्त बनाउन अनेक प्रयासहरू गरेका थिए।

उनको निधनप्रति नेपाली कांग्रेसका शीर्ष नेताहरूले गहिरो दुःख व्यक्त गरेका छन्।

प्रकाशित मिति: २०८२ कार्तिक २२, शनिबार ०७:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको