काठमाडौं ,कात्तिक २२ । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार(सोनल)ले आज विश्वासको मत लिँदै छन् ।
सोमबार मधेश प्रदेशसभामा आधिकारिक पत्र पठाएर विश्वासको मत लिन व्यवस्था मिलाई दिन उनले आग्रह गरेका थिए । २९ असोजमा विभिन्न पाँच दलको बहुमत सांसदको समर्थनमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले लोसपाका सांसद सोनललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
जनता समाजवादी पार्टीका १९, जनमतका १३, नेकपा माओवादी केन्द्रका ९, नेकपा एसका ७, लोसपाका ९ गरी कुल ५६ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका सोनलले आज दिउँसो १ बजे विश्वासको मत लिने भएका हुन् । मुख्यमन्त्री सोनारले नेपालको संविधानको धारा १६८ को उपधारा ९४० बमोजिम विश्वासको मत लिन लागेका हुन् ।
१०७ सांसद रहेको प्रदेशसभामा सरकारको लागि ५४ सिट आवश्यक छ ।
मुख्यमन्त्री सोनललाई नागरिक उन्नमुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीसमेत विश्वासको मत दिने जनाएको छ । जनमतको विभाजन, माओवादी केन्द्र र नेकपा एसको एकीकरण र जसपाका एक सांसद निलम्बनका परेकोले मुख्यमन्त्री सोनललाई विश्वासको मत पूरा गर्न सकस देखिन्छ । तर, कुनै विशेष राजनीतिक घटना नभएको खण्डमा सोनल नेतृत्वको सरकारले विश्वासको मत पाउने अवस्था देखिन्छ ।
सोनललाई कांग्रेसले पनि विश्वासको मत दिने चर्चा चलेको थियो, तर शुक्रबार बसेको कांग्रेसको संसदीय दलको बैठकले भने प्रतिपक्षमै बस्ने र सरकारलाई विश्वासको मत दिने वा नदिने विषय अवस्था हेरि निर्णय लिने निर्णय गर्ने छलफल भएको कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले बताए ।






