रास्वपा को ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने



काठमाडौँ ,कात्तिक २३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ४० वर्ष मुनिका युवाहरूलाई २७ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेको छ । चितवनको सौराहामा कात्तिक २१ र २२ गते सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकले युवाहरूको जनसङ्ख्याको अनुपातमा प्रतिनिधित्व सुनिश्चित गरिएको हो ।

यस्तै विदेशबाट फर्किएका नागरिक उम्मेदवार बन्न चाहेमा १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेको छ । ‘जेनजीको स्पिरिडको प्रतिनिधित्वलाई समानुपातिक बन्दसूचीमा समेट्दै ४० वर्षमुनिका युवाका लागि उनीहरूको जनसङ्ख्याको अनुपातकै आधारमा २७ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको छ । त्यस्तै प्रदेशबाट फर्किएका नेपाली उम्मेदवार बन्न १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको छ’, पार्टीले आइतबार सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।

यस्तै फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन घोषणा भएकाले पूर्वनिधारित महाधिवेशन मिति ६ महिना पर सारेको छ । चार सय प्रतिनिधि सहभागी रहेको विस्तारित बैठकले ११ बुँदे निष्कर्ष निकालेको छ ।

कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन,उपसभापति डा।स्वर्णिम वाग्लेले चुनावी वाचापत्रको अवधारणा, महामन्त्री कवीन्द्र बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन, सहमहामन्त्री विपिनकुमार आचार्यले उम्मेदवार छनोट रूपरेखा र सचिवालय सदस्य दीपक बोहराले हस्ताक्षरसम्बन्धी प्रतिवेदन पेस गरेका थिए ।

डा।तोसिमा कार्कीले पार्टी सुधार मार्गचित्र सम्बन्धी फरक मत पेस गरेकी थिइन् । केन्द्रीय सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठ, चितवन, झापा, रुपन्देही समितिले सुझाव पेस गरेका थिए । पाँचवटै प्रतिवेदनमा सात समूहले सुझाव दिएका थिए ।

प्रकाशित मिति: २०८२ कार्तिक २४, आइतवार १२:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको