काठमाडौं , कात्तिक २३ । तत्कालीन नेकपा(एकीकृत समाजवादी) विघटन भएपछि पुनर्गठनको प्रक्रिया सुरु भएको छ । शनिबार उक्त पार्टी को एकता प्रक्रियामा जान अनिच्छुक सदस्यहरूले तत्कालीन महासचिव घनश्याम भुसाललाई नेता चयन गरेका छन् ।
मौजुदा समितिका १ सय ५८ सदस्य भुसाल पक्षमा उभिएको दाबी भइरहेको बेला ६७ सदस्यले भुसाललाई पार्टी पुनर्गठन अभियानको संयोजक तोकेका छन् । माधवकुमार नेपालले पार्टी एकता गर्ने निर्णय गरेपछि तत्कालीन नेकपा एस तीन चिरामा विभाजित भएको हो ।
तीमध्ये एउटा समूह नेकपा(एमाले) मा जाने तयारीमा छ । शिलापत्रकर्मी मिलन बुढाथोकीले नेकपा एसका पूर्वमहासचिव तथा पुनर्गठन अभियानका संयोजक घनश्याम भुसालसँग अभियानका बारेमा कुरा गरेका छन् ।
नेकपा एस त अहिले अस्तित्वमै छैन । फेरि पुनर्गठन अभियान तपाईंको नेतृत्वमा हुने भनिएको छ र शनिबार संयोजक पनि तोकिएको छ । अबको योजना के छ ?
अहिले राजनीतिक पार्टीहरू हाइज्याक भइरहेका छन्, जसले सामाजिक र राजनीतिक अस्थिरता निम्त्याइरहेका छन् । देशलाई राजनीतिक स्थिरताका साथ अघि बढाउनका लागि अब एउटा इमानदार पार्टी तयार गर्नुपर्छ । त्यो पार्टी घुस नखानेहरूको लोकतान्त्रिक पार्टी हुनुपर्छ । हामी त्यस दिशामा गएका छैनौँ । त्यता नजाँदा समृद्धि र समाजवाद सधैँ संकटमा परिरहन्छ । यही हाम्रो मुख्य मुद्दा हो ।
एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादीमा आएका यतिका समय तपाईंहरूले के गर्नुभयो र ?
यही कुरा मैले एकीकृत समाजवादीभित्र रहँदा पनि उठाइरहेँ र प्रयत्न गरिरहेँ । यो पार्टीले चार वर्षमा जम्माजम्मी दुईवटा मात्र ठूला काम गरेको छ– एउटा मेची–महाकाली अभियान र अर्को ‘सुशासन र रोजगारी–समाजवादको तयारी’ भन्ने आन्दोलन । दुवै अभियान हाम्रो पहलमा भएका थिए । यहीबीचमा माधव नेपाल कमरेडमाथि मुद्दा लाग्यो । उहाँले त्यो मुद्दापश्चात् नेतृत्व छोड्नु भएन । हामीले त भदौमा भ्रष्टाचारविरुद्ध र रोजगारी–सुशासनको पक्षमा सडक आन्दोलन सुरु गर्ने तयारी गरिरहेको थियौँ ।
त्यो आन्दोलन हुन नसेको कारण के होर ?
पार्टी अध्यक्षमाथि नै मुद्दा परेपछि नैतिक रूपमा भ्रष्टाचारविरुद्धको मुद्दा लिएर कसरी सडकमा जाने ? नेतृत्व छोड्नुस् भन्दा उहाँले आफ्नै संकट टार्ने उपायका रूपमा पार्टी प्रचण्डलाई बुझाउने दिशातर्फ लाग्नुभयो । हामीले त्यस्तो नगर्नुस् भनेका थियौँ, तर उहाँले मानेनन् । अहिले जे भइरहेको छ, त्यही त परिणाम हो ।
जनताले अहिले चाहेको सुशासन हो । त्यसका लागि भ्रष्टाचार नगर्नेहरूको लोकतान्त्रिक पार्टी निर्माण हाम्रो मुख्य एजेन्डा हो । स्वार्थका कारण गरिएको एकताको आयु लामो हुँदैन । हामी त्यस्ता प्रवृत्तिको विरोधमा छौँ ।
भनेपछि माधव नेपालको निर्णयसँगै पार्टीले बाटो बिराएको निष्कर्ष त्यसैबेला थियो र ?
हो । जब आफ्नो स्वार्थका लागि सम्झौता गरियो, त्यसैबेला माधव कमरेडको नेतृत्वको पार्टीले बाटो बिराइसकेको थियो । नेपालमाथि मुद्दा परेपछि पनि नेतृत्व नछोड्दा पार्टीले आफ्नो नैतिक औचित्य गुमायो । हामीले त्यसबेला पनि यही प्रश्न उठाइरहेका थियौँ– पार्टीलाई लोकतान्त्रिक स्थिरता दिन नसकेपछि नेतृत्वले जिम्मेवारी लिएर पद त्याग्नुपर्थ्यो ।
पार्टी एकतामा जाँदा तपाईंहरूको समूहभित्र प्रस्ट बुझाइ थिएन र ?
थियो, हामीसँग स्पष्टता थियो । आजको मुलुकको संकट समाधान गर्ने विषयमा माधवकुमार नेपाल र उहाँको समूह एक ठाउँमा उभिएको थिएन । रोजगारी सिर्जना, सुशासन कायम, शिक्षा र स्वास्थ्य सुधारजस्ता एजेन्डा कुनै पनि रूपमा एकताको केन्द्रमा थिएनन् ।
अब तपाईंहरूको एजेन्डा के हो ?
सबैभन्दा पहिलो कुरा– जनताले अहिले चाहेको सुशासन हो । त्यसका लागि भ्रष्टाचार नगर्नेहरूको लोकतान्त्रिक पार्टी निर्माण हाम्रो मुख्य एजेन्डा हो । स्वार्थका कारण गरिएको एकताको आयु लामो हुँदैन । हामी त्यस्ता प्रवृत्तिको विरोधमा छौँ, जसले कार्यकर्तालाई आफ्ना संकट टार्ने योजनामा सामेल गराउँछ, आफ्ना संकट लुकाउन भोट बेच्न बाध्य बनाउँछ, र नानाथरीका गठबन्धन गरेर सत्ता टिकाउने प्रयत्न गर्छ । देशले अब त्यस्ता प्रक्रियाबाट मुक्ति खोजिरहेको छ । त्यसका लागि हाम्रो अभियान निरन्तर जारी छ ।
भनेपछि नेकपा एस जोगाउने काम तपाईंहरूले नै गर्नुभएको हो ?
ठ्याक्कै त्यही हो । हिजो एमालेबाट विद्रोह गर्दा जुनएजेन्डा थियो, त्यो अहिले पनि हामीसँगै छ । हामी अन्यत्र गएको होइनौँ, ती एजेन्डालाई अघि बढाउने प्रयासमै छौँ । अरु विभाजित भएका हुन्, हामी होइन ।
अब एकता वा सहकार्य कसरी अगाडि बढाउने ?
हामीले तय गरेका एजेन्डा नछोडीकन सबै वामपन्थी, देशभक्त, समाजवादी र प्रगतिशील शक्तिहरूसँग सहकार्य गर्दै अगाडि बढ्छौँ । पार्टीका रूपमा कति अघि बढ्न सक्छौँ, त्यो हेर्नेछौँ । त्यो सम्भव नभए मोर्चा बनाएर पनि सहकार्य गर्नेछौँ ।
अहिले यति मात्र भन्न चाहन्छु– अब देशका साधन–स्रोत दोहन गरेर पार्टी चलाउने प्रवृत्तिविरुद्ध र पदका लागि संरचना कब्जा गर्ने संस्कृतिविरुद्ध हामी दृढतापूर्वक लाग्नेछौँ ।




