काठमाडौं , कात्तिक २३ । पार्टी विघटन भएपछि तत्कालीन नेकपा(एकीकृत समाजवादी)का घनश्याम भुसाल पक्षले पुनर्गठन अभियान थालेका छन् । शनिबार भर्चुअल रूपमा बसेको भुसाल पक्षको भेलाले उनलाई पुनर्गठन अभियानको संयोजक तोकेको नेता दामोदर अर्यालले शिलापत्रलाई जानकारी दिए ।
अर्याललाई प्रचार विभाग प्रमुख तोकिएको छ । उनका अनुसार, शनिबार बसेको ६७ सदस्यीय केन्द्रीय भेलाले भुसाललाई संयोजक चयन गरेको र अब मंसिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने तयारी भइरहेको छ ।
‘माधव नेपालले प्रचण्डलाई पार्टी बुझाएपछि देशभरका नेता–कार्यकर्ता रनभूल्लमा पर्नुभयो । उहाँहरूको मनोभाव बुझेर हामीले सम्माननीय नेता भुसाललाई संयोजक चयन गरेका हौँ,’ अर्यालले भने, ‘अब नेकपा (एस) पुरानो रूपमा होइन, नयाँ, पुनर्ताजगी र पुनर्गठित स्वरूपमा देखा पर्नेछ ।’
उनका अनुसार सबै जिल्ला कमिटीलाई यस पुनर्गठन अभियानमा सक्रिय रूपमा सहभागी हुन भनिएको छ । उनले ‘स्वार्थको गठजोडमा लागेकाहरूसँग नजान’ आग्रह गरेको समेत जानकारी दिए । ‘यो प्राकृतिक गठबन्धन होइन । आफ्ना संकट टार्नेहरूले देश र जनतालाई कहीँ पुर्याउँदैनन् भन्ने कुरा हामीले स्पष्टसँग भनेका छौं । उहाँहरू बिस्तारै बुझ्दै हुनुहुन्छ’, उनले थपे ।
तत्कालीन नेकपा (एस)का केन्द्रीय सदस्यहरूमध्ये भुसाल पक्षसँग हाल १५८ जना रहेको दाबी गरिएको छ । भुसालसँगै घनेन्द्र बस्नेत, हरि पराजुली, डा। विजय पौडेल, भवानी खापुङ, जीवनराम श्रेष्ठ, धमैराज निरौला, नन्द बञ्जाडेलगायतका नेताहरू बैठकमा सहभागी भएर आफ्ना धारणा राखेका थिए ।
बैठकले मंसिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । उक्त भेलामा केन्द्रीय समिति प्रस्ताव गरिनेछ, जसमा तत्कालीन नेकपा ९एस०का मात्र होइन, वाम आन्दोलनमा संलग्न रहँदै सुशासन र लोकतन्त्रको पक्षमा उभिएका व्यक्तिहरूसमेत समावेश गरिनेछ ।
लगत्तै चुनावी परिवेशलाई बुझेर पार्टी दर्तादेखि विचार मिल्नेहरूसँग एकतासम्मको अभियान अघि बढाउने तयारी भइरहेको अर्यालले बताए ।
बैठकलाई सम्बोधन गर्दै संयोजक भुसालले वाम आन्दोलन बरालिएको भए पनि अब ठीक बाटोमा फर्किने प्रक्रिया सुरु भएको बताए ।
‘वाम आन्दोलनलाई सही मार्गमा ल्याउने अभ्यास भइरहेको छ । यसले एक–दुई महिनाभित्र ठूलो सफलता प्राप्त गर्नेछ’, भुसालको भनाइ उद्धृत गर्दै अर्यालले भने, ‘अब विचौलियाले बोकेको पार्टी र इमानदारहरूको पार्टी अलग–अलग देखिनेछ ।’




