जनकपुरधाम, कात्तिक २४। जनता समाजवादी पार्टी (जसपा) नेपालले संघीयता पक्षधर नेता र कार्यकर्तालाई जनकपुरधाममा केन्द्रित हुन आह्वान गरेको छ। जसपा नेपाल धनुषाका अध्यक्ष पशुपति यादवले मधेश प्रदेशका हालका राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै संघीयता र प्रदेश व्यवस्थामाथि आन्तरिक खतरा बढ्दै गएको बताएका छन्।
यादवले भनेका छन् कि “मधेश प्रदेशका प्रदेश प्रमुख र नेकपा एमालेले संघीयता र प्रदेश व्यवस्थालाई कमजोर पार्ने षडयन्त्र गरिरहेको अवस्था छ। यस खतरालाई रोक्न संघीयता पक्षधर नेता–कार्यकर्ताहरूको एकजुटता आवश्यक छ।”
आज बिहान समाजिक सञ्जालमार्फत जारी गरेको संदेशमा यादवले मधेश र संघीयताको रक्षाका लागि सबै नेता–कार्यकर्तालाई जनकपुरधाममा सक्रिय हुन आग्रह गरेका छन्। उनका अनुसार, जनकपुर केन्द्रित गतिविधिहरूले संघीयताको सुरक्षामा महत्वपूर्ण भूमिका खेल्नेछ।
जसपा नेपालले स्थानीय तहदेखि संघीय तहसम्मका सदस्य र कार्यकर्तालाई सचेत रहन र मिलेर काम गर्न आह्वान समेत गरेको छ। यस कदमले प्रदेशमा संघीयता र लोकतान्त्रिक प्रणालीको रक्षा गर्ने उद्देश्य राखेको बताइएको छ।
प्रदेशको संवेदनशील राजनीतिक परिस्थितिमा संघीयता पक्षधर नेता–कार्यकर्ताको सक्रियता आवश्यक रहेको यस आह्वानले देखाएको छ। यसबीच, जसपा नेपालले आगामी कार्यक्रम र सभाहरूको माध्यमबाट जनकपुरलाई राजनीतिक केन्द्रबिन्दु बनाउने तयारी गरेको छ।






