बिहार विधानसभा चुनाव , दोस्रो चरणको मतदान सुरु

१२२ सीटका लागि १,३०२ उम्मेदवार प्रतिस्पर्धामा


एजेन्सी, कात्तिक २५ । बिहार विधानसभा चुनाव २०२५ अन्तर्गत दोस्रो र अन्तिम चरणको मतदान आज बिहानदेखि सुरु भएको छ। यस चरणमा १२२ विधानसभा सीटका लागि १,३०२ उम्मेदवार प्रतिस्पर्धामा छन्। पहिलो चरणमा १२१ सीटमा मतदान सम्पन्न भएको थियो, जसमा ६५ प्रतिशतभन्दा बढी मतदाताले सहभागिता जनाएका थिए।

आजको मतदानमा ३ करोड ७० लाखभन्दा बढी मतदाता आफ्नो प्रतिनिधि चयन गर्दैछन्। तीमध्ये करिब १ करोड ७५ लाख महिला मतदाता छन्। बिहार निर्वाचन आयोगका अनुसार ४५,३९९ मतदान केन्द्रहरू स्थापना गरिएको छ, जसमा ४० हजारभन्दा बढी ग्रामीण क्षेत्रमा छन्।

सबैभन्दा बढी मतदाता हिसुआ (नवादा) क्षेत्रमा छन् — करिब ३.६७ लाख। त्यस्तै लौरिया, चनपटिया, रक्सौल, त्रिवेणीगंज, सुगौली र बनमखी क्षेत्रमा सबैभन्दा धेरै (२२–२२ जना) उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

दोस्रो चरणको मतदान विशेष रूपमा सीमावर्ती क्षेत्रहरू — पश्चिम चम्पारण, पूर्वी चम्पारण, सीतामढी, मधुबनी, सुपौल, अररिया र किशनगंजमा हुँदैछ, जसको केही भाग नेपालसँग सिमाना जोडिएको छ। यी क्षेत्रहरूमा शान्तिपूर्ण र निष्पक्ष मतदान सुनिश्चित गर्न ४ लाखभन्दा बढी सुरक्षाकर्मीहरू परिचालन गरिएको छ।

यो चरण राजनीतिक दृष्टिले पनि निकै महत्वपूर्ण मानिएको छ, किनभने सीमांचल क्षेत्र मुस्लिम मतदाताहरूको प्रभाव भएको इलाका हो। एनडीए गठबन्धनले विपक्षमाथि “घुसपैठीलाई संरक्षण दिएको” आरोप लगाइरहेको छ भने विपक्षी इण्डिया गठबन्धनले अल्पसंख्यक मतदातामा भर पारेको छ।

मुख्य उम्मेदवारहरूमा जेडीयूका बिजेन्द्र प्रसाद यादव सुपौल, भाजपाका प्रेमेंद्र कुमार गया टाउन, रेनु देवी बेतिया, नीरेज कुमार सिंह ‘बबलू’ छातापुर, लेशी सिंह धमदाहा, शीला मण्डल फुलपरस र जमा खान चैनपुर प्रमुख छन्।

निर्वाचन आयोगले मतदातालाई निष्पक्ष ढंगले मतदान गर्न र अफवाहबाट टाढा रहन आग्रह गरेको छ।

प्रकाशित मिति: २०८२ कार्तिक २६, मंगलवार ०७:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको